विकासमा छुटेका गाउँ तेम्बाथान, तेगा र दिपु !

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका-३ मा पर्ने गाउँ हुन् तेम्बाथान, तेगा र दिपु । यहाँका यी गाउँ विकट छन् । यहाँका बासिन्दालाई सरकारी सेवासुविधामा सहज पहुँच त छैन नै, उनीहरूलाई स्वास्थ्य एवं शिक्षा पाउन पनि कठिन छ । त्यति मात्र हो र, सडक र बिजुली नै छैन ।

तेम्बाथानबाट दुई दिन हिँडेर जुगलकै कात्तिकेसम्म आइ दैनिक उपभोग्य वस्तु किन्ने गर्दछन् । सडक नहुँदा हिँडेरै आउजाउ, ठाउँठाउँमा खोला, भिरको बाटो, भारी बोकेर कष्टपूर्ण पैदल यात्रा गर्छन् । बर्खाको बेला आवतजावत गर्न झमेला हुन्छ । गाउँले मिलेर गोरेटो बाटो बनाउने गरेका छन् । बाटो सफा बनाउन एक घर एक व्यक्ति जानै पर्ने नियम गाउँलेले राखेका छन् ।

स्थानीय तहमा जनप्रतिनिधि आएपछि गुम्बा गाउँ सम्म सडक र बिजुली पुगेको छ । यी गाउँमा धेरै शेर्पा जातिको बसोबास छ । स्थानीयका अनुसार १६७ घरधुरी तेम्बाथानमा छन भने दिपु , साङ्लुङ र तेगा गाउँमा ३०/३२ घरधुरीको बस्ती छ तर यी बस्तीका स्थानीयलाई विकसित गाउँ कस्तो हुन्छ नै थाहा छैन ।

बिरामी हुँदा हेलिकप्टरकै भर

सामान्य उपचारको लागि त तेम्बाथानमा स्वास्थ्यचौकी छ । नजिक स्वास्थ्यचौकी भए पनि सिटामोलबाहेक अरु औषधि पाइँदैन । गुम्बादेखिका व्यक्तिसमेत दुई दिन माया मारेर कात्तिके पुग्ने गर्दछन् भने तेम्बाथानको त कुरै नगरौँ । बिरामी भएकै दिन अस्पताल पुर्‍याउन कठिनाइ हुन्छ । जानैपरे पनि भिरको बाटो, तत्काल बोकेर लाने अवस्था छैन, हेलिकप्टर नै झिकाउनुपर्छ । अरु विकल्प यहाँ छैन ।

स्थानीय लाक्पा लामा भन्छन् , ‘बिरामी पर्दा उपचार गर्न हेलिकप्टर बोलाउनुपर्छ, ऋण गरेर हेलिकप्टरमा बिरामी लगेका गाउँलेले अहिलेसम्म ऋण तिर्न सकेका छैनन् ।’

गाउँमा १६७ घरधुरी छ । बाक्लो बसोबास शेर्पा समुदायको छ । सुत्केरी ब्यथा लाग्दासमेत हेलिकप्टर खोज्नुपर्ने बाध्यता गाउँलेसामु छ । सिंगो गाउँको समस्या यही छ । जटिल बिरामी भए पनि तत्काल अस्पताल पुर्‍याउन सकिँदैन । बिरामी पर्दा जंगली जडीबुटीको भर पर्नुपर्ने बाध्यता छ । बिरामीको उद्धारका लागि हेलिकप्टर बोलाइरहनुपर्ने भएकाले तेम्बाथान आधारभूत विद्यालय नजिकै हेलिप्याड बनाइएको छ ।

शिक्षाको कमि

तेम्बाथान, तेगा, साङ्लुङ र दिपु गाउँ । यी गाउँको मानिसकाे पेसा याक ,चौँरी र गाई पाल्ने हो । पितापुर्खादेखि गोठ पाल्ने चलन भएकाले लेकाली क्षेत्रका धेरैको पेसा नै गोठ पाल्नु हो । चौरी गोठमा भकारा सोर्ने, चौरी खेद्ने र वस्तुभाउको चाकरीमा व्यस्त रहन्छन् । केही समय अगाडि यहाँका अधिकांश बाललालिका चौरी गोठमै हुन्थे । दुई दिन पैदल दूरीका चौरी गोठ । त्यही भएर पनि अभिभावकले गोठ जहाँ लान्छन्, छोराछोरी पनि त्यहीँ लैजाने चलन थियो ।

विद्यालयको अनुहारै नदेखेका बालबालिकाको दैनिकी यस्तैमा बित्थ्यो । परिवारमा पढाइभन्दा चौँरीगोठ प्यारो भन्ने मान्यताले पनि उनीहरू शिक्षाबाट टाढा भए । तर, अहिले बालबालिकाहरू गोठ नभई विद्यालय जान थालेका छन् । कक्षा ६ सम्म पढाई हुने तेम्बाथानको आधारभुत विद्यालयमा नियमित विद्यालय आउने विद्यार्थीको संख्या १०० छ ।

गाउँका केटाकेटी खासै स्कुल नजाने चौँरी गोठमै भेटिन थालेपछि सबै बालबालिकालाई विद्यालयमा भर्ना गराउनुस् भनि घरघरमा अभिभावकलाई सल्लाह सुझाब दिएसँगै विद्यार्थी नियमित जान थालेका हुन् ।

खाजा आफ्नै घरबाट ल्याउन लाएर सो खाजाको पैसा ४/५ महिनामा एकमुस्ट दिने गरेकाले विद्यालय आउने विद्यार्थीकाे संख्या बढ्न थालेको तेम्बाथान आधारभूत विद्यालयका प्रधानध्यापक युवराज शर्माले बताए । कक्षा कोठाको अभावले तीन कोठालाई जस्ताका पाताले बारेर छ कोठा बनाई कक्षा ६ सम्म सञ्चालन गरिएको छ । बेन्च, टेबल, कक्षा कोठा अभावले प्रशासन चलाउन नसकिएकाे उनले बताए । तेम्बाथानको विद्यालयलाई पालिकाले कुनै सहयोग नगरेकोमा शर्माको गुनासो छ ।

जस्ताले बारेको कोठामा पढाउँदा होहल्ला हुने, पढाएको नबुझ्नेजस्ता समस्या भइरहेकेा शिक्षक साङगे निमा शेर्पाले बताए । अहिलेसम्म अँग्रेजी र गणित विषयका किताब विद्यालयमा उपलब्ध छैन । साङ्लुङ, तेगा र दिपुका विद्यार्थी बर्खामा तेम्बाथानमा आफन्ताकोमा बसेर विद्यालय जान्छन् भने हिउँदमा २ घण्टाको बाटो हिँडेर विद्यालय जाने गरेका छन् ।

कक्षा ६ सम्म अध्यापन हुने भएकाले माथिल्लो कक्षा पढ्न टाढा जानुपर्दा गाउँमा पढाइप्रति आकर्षण घट्ने होकि भन्ने चिन्ता विद्यालय व्यवस्थापन अध्यक्ष लाक्पा शेर्पाको चिन्ता छ । बिजुली नभएकै कारण पनि पढ्ने उमेरका बालबालिका र बिरामी बढी प्रभावित हुन पुगेका हुन् । सामान्य अक्षर चिन्न सक्ने र अलिअलि काम गर्न सक्ने भएपछि वैदेशिक रोजगारको बाटो खोज्छन् ।

सडकको पहुँच नहुँदा समस्या, १२ हजार भत्ता लिन ७ हजार खर्च

तेम्बाथान, दिपु र तेगाका प्रत्येक ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्तलगायत सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न एक दिनको पैदल हिँडेर वडा कार्यालय धाउनुपर्ने बाध्यता छ । बर्खामा जोखिम मोलेरै हिँडिरहेका छन् ।

ज्येष्ठ नागरीकलाई १२ हजार सामाजिक सुरक्षा भत्ता लिन ७ हजारसम्म खर्चगर्नुपर्ने बाध्यता छ । यहाँका जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता बुझ्नकै लागि २ दिन पैदल हिँडेर जुगलको डाडे बजार पुग्छन् । त्रैमासिक रुपमा सरकारले दिने १२ हजार भत्ता लिन जाँदा ७ हजार रकम त खाना, खाजा र बास बसेकै ठाउँमा खर्च गर्नुपर्ने अवस्था रहेको जेष्ठ नागरिक फुर्वा शेर्पाको गुनासो छ ।

भत्ता लिन जाँदा र फर्कंदा ४ दिनको पैदल यात्रा गर्नुपर्दा बुढेसकालको शरीर थाकेर बिरामी नै हुने अवस्था आएको उनको गुनासो छ । ज्येष्ठ नागरिक र अशक्तहरूले सरकारले प्रत्यक तीन तीन महिनामा दिने भत्ता लिन व्यहोर्नुपरेको सास्तीबारे जानकार रहेको जुगल ३ का वडा अध्यक्ष लक्ष्मण दोङ बताउँछन् । बैंकसँग छलफल चलाउने र कार्यपालिका बैठकमा यो विषयमा कुरा उठाएको अध्यक्ष दोङले बताए ।

न त बिजुली न इन्टरनेट

भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा तेम्बाथान, दिपु र तेगा गाउँमा अहिलेसम्म पनि नेपाल विद्युत प्राधिकरणको प्रसारण लाइनसमेत जोडिएको छैन । न इन्टरनेट चल्छ । सोलारकै भर छ । धेरैजसो परिवारले रातको समयमा उज्यालोको लागि टुकी बत्तीकै भर पर्नुपर्ने बाध्यता छ । केही हुनेखाने परिवारले सोलार जडान गरेका छन् ।

आफन्तसगँ फाेनमार्फत कुरा गर्न उनीहरु अग्लो स्थान खोज्दै धाउनुपर्ने बाध्यता छ । तेम्बाथाङ , तेगा र दिपुमा घाम लाग्दा मात्रै टावर आउने गर्छ । स्थानीयवासीहरु महत्वपूर्ण सूचना आदानप्रदानका साथै स्वदेश तथा विदेशमा रहेका आफन्तसँग कुराकानी गर्न टावरले टिप्ने ठाउँ खोज्दै घाम लाग्ने बितिकै डाडामा निस्किने गरेका छन् ।

स्थानीय लाक्पा शेर्पा भन्छन् , ‘विकट गाउँको बसाइ, त्यसमा पनि प्रविधिको पहुँचमा नहुँदा धेरै सरकारी सेवासुविधाबाट पनि टाढा हुनपरेको र समयमा सूचना पनि प्राप्त नहुँदा समस्यामा पर्ने गरिएकाे छ ।’

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७