• २०८३ जेठ २६
  • 2026 June 09, Tuesday

नीति अनुसन्धान प्रतिष्ठानले अन्तर्राष्ट्रिय सम्बन्धबारे अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने

काठमाडाैं । नीति अनुसन्धान प्रतिष्ठानले भदौ १० देखि १२ सम्म नेपालको अन्तर्राष्ट्रिय सम्बन्धबारे अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ ।

प्रतिष्ठानका निर्देशक डा. दीपक कुमार अधिकारीले सोमबार आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले १० भदौमा उद्घाटन गर्ने सम्मेलनको समापन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने तय भएको छ । कार्यक्रमकाे उद्घाटनमा विशेष अतिथिमा परराष्ट्रमन्त्री डा. नारायण खड्काकाे पनि उपस्थिति रहनेछ ।

सम्मेलनमा अन्तर्राष्ट्रिय सम्बन्धमा अध्ययन र कार्य गरिरहेका ४० वर्ष मुनिका विज्ञहरू सहभागी हुनेछन् । भारतबाट ३८ जना विज्ञ आउनेछन् । कार्यक्रममा जम्मा ७० जना विज्ञ सहभागी हुनेछन् ।

‘नेपालले भविष्यमा कस्ता नीतिहरूको आधारमा विश्वलाई हेर्ने भन्ने विषयमा यस कार्यक्रमले गहन विषयवस्तुको प्रकाशन गर्नेछ,’ निर्देशक अधिकारीले भने । नयाँ विश्व व्यवस्थामा नेपालको विदेश नीतिबारे कार्यक्रमले दिशानिर्देश गर्ने कार्यक्रमका संयोजक डा. विनय कुमार मिश्रले जानकारी दिए ।

सेमिनारमा वातावरण, संस्कृति, विश्व राजनीति, सुरक्षा, शान्ति, स्थिरता, व्यापार, प्रविधिलगायतका विषयमा बेग्लाबेग्लै सत्रमा छलफल हुनेछ ।

साेमबार आयाेजित पत्रकार सम्मेलनमा कन्भेनर डा. विनय कुमार मिश्रा र नीति अनुसन्धान प्रतिष्ठान, नेपालका डाइरेक्टर डा. दीपक कुमार अधिकारीले सम्मेलनबारे स्पष्ट पारेका थिए ।