सत्यको अवसान, असत्यको उन्माद

शताब्दी पुरुष सत्यमोहन जोशीको निधनसंगै सामाजिक संजाल श्रद्धाञ्जलीका सन्देशले भरियो । राष्ट्रपतिदेखि सर्वसाधारणसम्म सबैले जोशीको निधनमा दुःख व्यक्त गरे । सरकारले उनको सम्मानमा एक दिन सार्वजनिक विदा पनि दिँदैछ ।

सत्यमोहन आफैमा इतिहास हुन् । उनी आफैमा एक संस्कृति र पहिचान हुन् । उनको निधन एक युगको समाप्ती हो । आफनो नाम अनुसार नै उनले जीवनभर सत्य नै लेखे, सत्य नै बोले । उनी आफनो जीवनकाल मात्र नभइ त्यसअघिको इतिहासका पनि अभिलेख थिए । उनको निधनसंगै कतिपय सत्य उजागर हुन सकेनन् ।

सत्यसंगै मोहन जोडिएर सत्यमोहन नाम रह्यो उनको । मोहन भनेको कसैलाई मोहित पार्ने वा लट्ठ्याउने काम हो । मोहनको अर्थ कृष्ण पनि हो । साँच्चै सत्यमोहनले आफनो व्यक्तित्व र कृतित्वका माध्यमबाट सबैलाई मोहित पारेका थिए । उनको लेखन र वाणीमा जुन ओज थियो त्यसले तान्त्रिकले जस्तो सबैलाई मन्त्रमुग्ध पारेको थियो ।

सत्यमोहनको नाम लिने वित्तिकै जसको पनि श्रद्धाले शीर निहुरिने गर्छ । स्वयं राष्ट्रपति विद्या भण्डारीले जोशीको निधनमा अत्यन्त पीडाबोध भएको भन्दै ट्वीट गरेकीछन् । उनले जोशीलाई देशकै अभिभावकको संज्ञासमेत दिइन् ।

जोशीको स्वर्गारोहणबारे पहिलो जानकारी पाएका साहित्यकार नरेन्द्रराज प्रसाईले जोशीको निधनबाट आफू अत्यन्त दुखित भएको उल्लेख गरेकाछन् ।

लेखक एवम कवि प्रकास सायमीले जोशीको निधनबाट राष्ट्र नै ठूलो शोकमा परेको बताएकाछन् । उनले नेपालका एक महान सपूत सत्यमोहन जोशीले देह त्याग गरेपनि समग्र राष्ट्र र जातिका निम्ति जे छोडेर जानु भएको छ त्यो अतुलनीय रहेको प्रतिक्रिया दिएकाछन् ।

साहित्यकार एवम संचारकर्मी भगवति बस्नेतले जोशीलाई स्मृतिमा रहिरहने व्यक्तित्व भनेकीछन् । गायिका पुष्पा बोहोराले जिउँदो इतिहास ढलेको रुपमा बर्णन गरेकीछन् । बिभिन्न दलका नेताहरु, समाजसेवी, उद्योगी व्यवसायी, कलाकार, पत्रकार लगायत सर्वसाधारणले जोशीप्रति उच्च सम्मान व्यक्त गर्दै मुलुकले ठूलो क्षति भोग्नुपरेको जनाएकाछन् ।

सत्यमोहन यसअर्थमा पनि उदाहरणीय र महान व्यक्तित्व हुन की उनले आफनो शरीर अध्ययनका लागि भन्दै ललितपुरको किष्ट अस्पताललाई दान गरेकाछन् । आफनो शरीर जलेर खरानी हुनु भन्दा कसैको काममा प्रयोग होस भनेर उनले शरीर दान गरेका हुन् । उनको शरीरलाई अस्पतालले अध्ययनका लागि विशेष रसायनमा राखेको छ । चिकित्सा क्षेत्रका विद्यार्थीका लागि उनको शरीर अध्ययनमा प्रयोग हुनेछ ।

एक युग बोकेका सत्यमोहन असत्य र अधर्मीहरु हावी भएको समाजमा लामो समय बाँचे । १०३ वर्ष कुनैपनि मानिसका लागि लामो आयु हो । यो बिचमा उनले सत्यवोधी कर्म गरेपनि उनको वरिपरिको समाजले अत्याचार र कुकर्म मात्र गर्यो, अहिले पनि गरिरहेको छ ।

अहिले नेपालमा मात्र होइन विश्वमै मानवता हराउँदै गएको छ । अपराध बढेको छ, मूल्य, मान्यता, सिद्धान्त र दर्शन समाप्त भएको छ । जताततै पापै पाप छ । अचम्म के छ भने यीनै अधर्मी र पापीहरुको जताततै बोलवाला छ । यीनिहरु नै शक्तिवान छन् । संसार चलाउने साँचो यीनिहरुकै हातमा छ ।

सत्यमोहनले बोलेको र लेखेको समाज, संस्कृति र इतिहास यो होइन । सत्यमोहन विश्व मामिलाका जानकार थिए तर उनको भेषभुषा साधारण थियो । उनले लगाउने टोपी त अझ विशेष थियो । आफनी आमाको निधनहुँदा उनले त्यो टोपी लगाएका थिए, पछि जीवनभर लगाए ।

आज मुलुक निर्वाचनमय छ । सत्यमोहनको पार्थिव शरीरमा श्रद्धाञ्जली दिरहँदा पनि नेताहरुको मन मष्तिष्कमा राजनीतिक दाउपेच र तिकडम नाचिरहेको थियो । कसलाई ढालेर कसरी जित्ने अहिले ध्याउन्न यही छ ।

प्रायः सबै क्षेत्रका मानिसलाई कसरी आफनो स्वार्थ पूरा गर्ने मात्र चिन्ता छ । आधुनिक युगमा जति प्रतिष्पर्धा छ त्यतिकै भौतिक विलासिताका साधनको अपरिहार्यता छ । यसको प्राप्तीका लागि मानिस नैतिकता, इमान र कर्तव्यको घाँटी रेटेर अघि बढिरहेको छ । जो बढी हत्यारा हुनसक्यो उसको सफलताको मानक त्यही हुन थालेको छ ।
यसरी हेर्दा यो असत्यको युग हो । कलि युग त्यसैले भनिएको होला । एक सत्यवादी सत्यमोहनको निधनले समाजमा व्याप्त अन्धकार झन खतरनाक हुने डर छ । इतिहास र संस्कृति देखाउने बत्ती निभेको छ ।

कामना गरौं, असत्यको उन्माद समाप्त होस, फेरि अर्को सत्यमोहनको युग सुरु होस ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७