राजनीतिमा मौलाउँदो वैचारिक नपुंसकता

सिद्धान्त, विचार, र आदर्शको कुरा गर्नेहरूबाट मानिसहरूले खोजे जस्तो परिवर्तन पाउन नसकेपछि आज-भोलि उनीहरूमा विचारप्रति नै वितृष्णा उत्पन्न भएको देखिन्छ । विचारको राजनीति गर्छु भन्नेहरूले विचारलाई अधिवेशनमा ‘श्राध्दमा बाँध्ने बिरालो’ बनाए पछि समाजमा यो अर्थहीन काम रहेछ भन्ने पर्दै गयो । यो नेतृत्वको तप्का पाखण्डी यतिबेला बन्यो जब विचारको दुरूपयोग गरी यसलाई भ्रम छर्ने साधन मात्रै बनाउने र आफैँ यसका लागि इमान्दार नहुने प्रवृत्ति झांगिदै गयो । बिस्तारै—बिस्तारै अब त त्यो ‘कर्मकाण्ड’ पनि गर्न नपर्ने भएको छ ।

राजनीतिमा देखिएको नयाँ पुस्ताको विचार भनेको नै पुरानोलाई सत्तोश्राप गर्ने र सम्भव होस् वा नहोस्, सही होस् वा नहोस् बहुसंख्यकको प्रिय हुने कुरा गर्ने हुन गएको छ । वा, लोकप्रियतावाद नै उनीहरूको सिद्धान्त बनेको छ । पूँजीवादको शोषणलाई विकासको नाउँमा जायज ठहराएर त्यसैको अन्धानुकरण गर्ने नै यिनीहरूको नियती भएको छ । गर्दागर्दै, अब विचारको नै आवश्यकता छैन भन्ने ‘नशबन्दीय’ मानसिकताको जन्म हुन पुगेको छ, जुन अवश्य पनि दुर्भाग्यपूर्ण छ । यसो हुनुका पछाडी विश्व व्यवस्थाको प्रभाव र दबाव त छ नै यसका साथसाथै मानिसहरूमा माैलाएको चरम स्वार्थ र व्यक्तिकेन्द्रियता पनि जिम्मेवार छ ।

यति भन्दै गर्दा अब पनि पुराना दलहरूले बोकेको विचारमा समस्या छैन, उनीहरूको नियतमा मात्रै समस्या हो भन्नु कदापी पूर्ण बुझाइ हुन सक्दैन । किनकी समस्या समाधानको नाममा पात्र तथा राज्य संरचनाको फेरबदलीले नै कुरूप इतिहास बनाइसक्दा पनि भने जस्तो चाहीँ भएन । बिडम्बना के हो भने अहिले पनि समस्या पात्रमा होइन, प्रवृत्तिमा हो भनेर बुझ्न/बुझाउन सकिएको छैन । बुझ्नै समय लाग्ने यस खराब प्रवृत्तीको निराकरण त्यत्ति सहज र रातारात हुने विषय पक्कै पनि होइन । वास्तविक समाधान नयाँ विचार र त्यसमा आधारित अभ्यासबाट मात्रै सम्भव छ । त्यसकारण समस्या पुरानो विचारलाई परिमार्जन गर्न नसक्नु वा नयाँ विचारको निर्माण गर्न नसक्नुमा छ । अथवा भनौं समस्या भनेको नयाँ विचारको अभाव नै हो । कतिपय विद्वानहरूले नयाँ विचार दिन खोजिरहेको पनि देखिन्छ, तर अहिलेसम्म सहज विकल्पको रूपमा कुनै विचार अगाडि आउन सकिरहेको छैन । यत्ति भन्दै गर्दा के कुरामा हेक्का राख्नु जरूरी छ भने विश्व पूँजीवादको भरपर्दो विकल्पको अभाव हाम्रो मात्रै होइन विश्वव्यापी समस्या हो ।

पुराना विचारहरूप्रतिको मोहभंगको कुरा गर्दैगर्दा विद्यमान रहेका पुराना विचारहरू नै शाश्वत हुन् भन्ने जडता जुन समस्या थियो र अझै पनि छ त्यसलाई बिर्सन हुँदैन किनकी यो नै अहिलेको वैचारिक शून्यता जन्माउने प्रमुख कारक हो । यस परिस्थितिमा जडता र मोहभंग यस्ता प्रमुख कारणहरू हुन् जसका कारण एकातर्फ नयाँ विचारको निर्माण तथा बहस गर्नेतर्फ मानिसको ध्यान जान सकेको छैन वा आवश्यक ठानिएको छैन भने अर्कोतर्फ यसैको परिणाम स्वरूप वैचारिक नपुंसकताको जन्म हुन गई सामाजिक समस्या झनै गहिरिदै जाने परिस्थिति उत्पन्न भएको छ । यो अलमलमा के बुझ्न र बुझाउन सकिएको छैन भने विचारविनाको राजनीति वास्तवमा राजनीति नै हुँदैन ।

दलाल व्यवस्था र चलनचल्तीको विकृत राजनीतिले जन्माएको नयाँ परिस्थितिमा उत्पन्न भएको यो वैचारिक नपुंसकता अहिलेको प्रमुख समस्या भएर आएको छ । यस समस्याको पटाक्षेप हो पछिल्लो चरणमा देखिएको चुनावी परिणाम । कुनै राजनीतिक आन्दोलन वा पुनर्जागरणविना नै, ‘गालीबाज’हरूको राजनीतिज्ञका रूपमा उत्थान हुनु कुनै उत्साहित हुनु पर्ने विषय होइन । विचारविहीन नेतृत्वको जन्म यो रोगी व्यवस्थाको स्वाभाविक उद्विकासको एक चरण हो । यसले कुनै राम्रो भविष्यको संकेत गर्दैन । यसले कुनै नयाँ विचार तथा कार्यक्रमहरू ल्याउनुको सट्टा उही सामाजिक क्रोधलाई भोटका रूपमा ‘क्यास’ गर्दै राजनीतिमा उदाउने प्रयास गरेको छ । यसले विचारको निर्माणमा ध्यान दिएन भने यसको अर्थ के हो भने कि त यो भविष्यमा धकेलिदै कुनै उग्र राष्ट्रवाद वा दक्षिणपन्थ विचारमा पुग्दछ र आफैँ पतन हुन्छ कि त ठूलो निराशा निम्त्याएर राष्ट्रियता नै विलुप हुन सक्ने परिस्थितिको निर्माण पनि गर्न सक्दछ ।

अप्रत्यासित रूपमा विचार वा पार्टी होइन वास्तवमा व्यक्तिहरूको उदयले कतिपयलाई अचम्मित पनि गरेको छ । किनकी उनीहरूलाई लाग्थ्यो पुराना दलहरूको सिण्डिकेट कहिल्यै तोडिने छैन । त्यो सोचाइ गलत थियो किनकी सधैं त्यहि रहन सम्भव थिएन । यो परिवर्तन हुने दुई मात्रै तरिकाहरू थिए । पहिलो, राजनीतिक तथा चेतनाको आन्दोलनले । दोश्रो, स्वाभाविक रूपमा सामाजिक पुन:उत्पादनमार्फत जुन अहिले भएको छ । कतिपय अधिक उत्साहित पनि देखिन्छन् किनकी उनीहरूलाई लागेको छ अब परिवर्तन हुन्छ । अवश्य परिवर्तन हुन्छ तर कस्तो ? सकारात्मक परिवर्तन हुन्छ भनेर ठोस रूपमा भन्न त विजयी भएकाले पनि सकेका छैनन् । मात्र हामी इमान्दार छौं, गरेर देखाउँछौँ भन्दै छन् । वास्तवमा राजनीतिमा आएको पछिल्लो परिवर्तनको उपलब्धि नै यही रहेको छ कि उक्त सिण्डिकेट हल्लिएको छ ।

संभावनाहरूको ढोका बन्द नगरी र उनीहरूलाई शंकाको लाभ उपलब्ध गराएर नै के भन्न सकिन्छ भने इतिहासमा नै निरस र कम सहभागिता भएको चुनावमा नागरिकको घृणा, क्रोध, र प्रतिशोधको भोटबाट उदायका पात्रहरूले सतहमा देखिएको उत्साहलाई दीर्घकालीन परिवर्तनका लागि संस्थागत गर्ने सम्भावना छैन । मात्र उमेरको लाभ छ । युवाहरू हुन्, इच्छाशक्ति भए विचारको निर्माण गरि कार्यदिशा पनि बनाउन सक्दछन् । अन्यथा अहिलेसम्म यिनीहरूको राजनीतिक लवज हेर्दा यो वास्तवमा पुराना दल तथा उनीहरूले बोकेका विचारहरूको असफलता पछि बनेको तरल र अशान्त परिस्थितिमा उत्पन्न फोका मात्रै हुने देखिएको छ ।

यतिभन्दै गर्दा युवा भनिएको पुस्तामा एक प्रकारको आकर्षण त हो कि जस्तो देखिन्छ । यो यस्तो सोचविचाररहित आकर्षण छ कि मत दिनै पर्‍यो यसैलाई ‘दिएर हेरौं’ भन्ने जस्तो । युवा भनेपछि त्यसै राम्रो भने जस्तो मतदाताको मानसिकता देखिएको छ । यद्यपी, यो पुस्तासँग देश बनाउनका लागि चित्त बुझ्दो कुनै प्रष्ट विचार र एजेण्डा छैन । यस्तो निरस मतदानले दक्षिणपन्थी होस्, देशविरोधी नै किन नहोस्, विचार नै नबुझिएको किन नहोस्, ‘युवालाई दिए केही हुन्छ कि’ भन्ने आत्मविश्वास होइन झिनो आशा मात्रै बोकेको छ । धेरैले मत दिएर अर्थ नै के छ र ? भने जस्तो गरी मत दिने जुन अवस्था बन्यो यसले देशलाई निकास दिन सम्भव छैन । यस्तोसम्म परिस्थिति छ कि कतिपय स्थानमा कसैलाई पनि भोट दिन्न (नो भोट) भन्ने प्रावधान भएको भए त्यही खाली ठाउँले नै जित्थ्यो होला चुनाव !

यसरी सत्तामा दोहोरिएर आउने होस् वा नयाँ होस् त्यसले कुनै निकास दिनेवाला छैन । बरू थप अस्थिरता र शक्ति संघर्ष ल्याउने देखिन्छ । जनता वाक्क भएर नयाँ अनुहारलाई सत्ताको बागडोर दिएर हेर्न चाहेका छन् । वास्तवमा यो परिवर्तनको आन्दोलन गर्ने अवसर चाँही पक्कै हो । तर यो पुस्ता झनै कम्पास नभएको जहाज जस्तो देखिन्छ । यस्तो जहाज दुर्घटना त अवश्य नै हुनेछ र दुर्घटनाको कारण अरू केही नभएर आफैभित्रको विरोधाभास र कलह हुनेछ । यो कुनै निश्चित उद्देश्यका लागि नभएर व्यक्तिहरूको व्यक्तिगत विचार र निहित स्वार्थका आधारमा चलिरहेका कारण यसले अझै ठूला सामाजिक विग्रहहरू निम्त्याउनु अस्वाभाविक हुने छैन ।

स्थानीय निकायको निर्वाचनमा केही थान यस्ता पात्रहरू उदाए जसको न त वैचारिक जरा छ र त टुप्पो नै । उनीहरू मात्र प्रिय कुरा गर्ने र पुरानो पुस्तालाई गालीगलाैज गर्ने प्रवृत्तिका उपज हुन् । यद्यपी, स्थानीय तहमा संविधानको पालना गर्दै काम दिन सके राम्रो हो । तर, त्यसो नभएर समाजको चरित्र, विश्व राजनीति, र देश निर्माण गर्ने संकल्पको त कुरा छाडौं सामान्य आलोचनात्मक चेतको समेत अभाव भएका भुइँफुट्टाहरूको तानाशाही तमासा देख्नु परेको छ । उक्त मानसिकताले आम निर्वाचनमा पनि राम्रै प्रभाव छोडेर गएको छ । खासमा यो प्रवृत्ति पार्टीहरुभित्र मौलाउँदै गएको थियो । त्यहाँ स्थान नपाए पछि स्वतन्त्रको नाममा व्यापक भएर आएको देखियो । यसरी उदाएका र उदाउन खोजेका अनेकन पात्रहरूले तत्काललाई जनताबाट सहानुभूति र साथ पाएको जस्तो पनि देखिन्छ । यद्यपी, यिनीहरूले छोटामोटा काम गरेर क्षणिक प्रसिद्धि कमाइहाले पनि त्यो दीर्घकालीन हुन सक्दैन । केही समय पछि यिनीहरू सबैले घृणा गर्ने अझै खराब दलाल पात्र बन्ने छन् । किनकी, हाम्रो समाजको चरित्र नै दलाल हो । यसको निराकरणका लागि सुझबुझ नै नराखी र बहस नै नगरी बहुसंख्यकको तुष्टिकरणको राजनीति गर्ने यिनीहरू यही विकृत संस्कारका शिकार भई दलालीकरण हुँदै पतन हुन अभिषप्त हुनु नै पर्नेछ ।

निष्कर्ष :
विचारको विकल्प विचारहीनता हुन सक्दैन । यदि कसैले म कुनै विचारमा छैन भन्छ भने कि त ऊ अज्ञानी हो कि त विचलित हो । यदि नयाँ पुस्ताले आफ्नो विचार र राजनीतिक कार्यदिशा प्रष्ट पार्दैन भने यसले आफूले मात्रै राजनीतिक वियोगान्त भोग्नु पर्ने छैन बरू देशलाई नै डुबाउन सक्नेछ । उनीहरूको असफलताले लिएर आउने निरासाले देश नै धरापमा पर्ने सक्नेछ । हामीलाई नयाँ चाहिएको नै छ । पुरानोले न त हुनेवाला नै छ न त त्यो सधैं रहनेवाला नै छ । त्यसकारण समय छँदै विचार गर्नु नयाँ पुस्ताका राजनीतिज्ञ र आम जनताको कर्तव्य हुन आएको छ ।

-deeneshonline@gmail.com

लेखकबाट थप –

आशा जगाउन असफल चुनावी माहोल

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७