ठूला दलले च्याँखे थाप्दा रवि लामिछानेलाई प्रधानमन्त्रीकाे चिठ्ठा !

काठमाडाैं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएर यतिबेला सरकार बनाउने रस्साकस्सी चलिरहेकाे छ । प्रतिनिधिसभामा सबैभन्दा ठूलाे दल नेपाली कांग्रेस र त्यसपछिकाे दाेस्राे ठूलाे दल नेकपा एमाले दुवै आफ्नाे सरकार बनाउने दाउमा देखिन्छन् ।

प्रतिनिधिसभामा चौथो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जान इच्छुक देखिएको संकेत गरेपनि ठूला राजनीतिक दलका शीर्ष नेताले भने ‘नयाँ बाच्छो’सँग लातारिएर मेलो लाग्नुपर्ने डरले सरकारमा सम्मिलित गर्न त परै जा‌‌ओस् औपचारिक रुपमा वार्तासम्म गर्ने चेष्टा गरेका थिएनन् ।

तर पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीलाई रास्वपाका सभापति लामिछानेले भेटिसकेका छन् । उनी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेटघाटको चाँजोपाँजो मिलाएर संसदीय राजनीतिको नयाँ खेलाडी बन्ने तरखरमा अघि बढीसकेका छन् ।

तर संसदीय अभ्यासमा सत्ता स्वार्थको लय मिलाएर दशकाैँदेखि राज्यकोषमा रजाइँ गरेका कांग्रेस, एमाले र माओवादी केन्द्रजस्ता दललाई भने रवि र रविको रास्वपा सरकारमा लैजाँदा र नलैजाँदा दुवै स्थितिमा टाउको दुखाइको विषय बन्ने निश्चित देखिन्छ । सरकारमा सम्मिलित गर्दा राम्रो काम गरेर जनताको मन जित्ने र सम्मिलित नगराउँदा संसदभित्र तीनै ठूला नेताको कालाकर्तुतको पोल खोलेर बबन्डर गर्ने त होइनन् भन्ने डरले मुटुमा ढ्यांग्रो ठोकेको छ । प्रचलित उखान ‘नखाउँ कर्कली सासु जर्कली, खाउँ कर्कली पेटै फर्कली’ भन्ने स्थिति ठूला भनिने दलका लागि रविको रास्वपा बन्ने देखिन्छ ।

उता, प्रधानमन्त्रीको दावी गरिरहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्थिर राजनैतिक पात्रको उपनाम, जो कहिले एमाले त कहिले कांग्रेससँग मिलेर चुनाव लड्ने र सत्ताको भर्‍याङ्ग चढीहाल्ने उनको स्वभाव जगजाहेर छ । प्रचण्डलाई कांग्रेसले पहिलो चरणमा प्रधानमन्त्री मान्न तयार नदेखिएपछि र एमाले नेता विष्णु पौडेलले घरमै आएर प्रधानमन्त्रीको ललिपप देखाएपछि एमाले र रास्वपासहितको सरकार माओवादीकाे नेतृत्वमा निर्माण गर्ने सपना बुनेर प्रचण्डका दूतहरु रविको पार्टीसँग वार्ता गरिरहेका छन् । वार्ता र छलफल भएकाेबारे प्रचण्डले मुख खाेलिसकेका छन् ।

यदी, एमाले माओवादी र रास्वपासहित अन्य साना राजनीतिक दलको आलोपालो नेतृत्व गर्ने सरकार बन्यो भने रास्वपा सभापति रवि लामिछानेले पनि पाँच वर्षभित्र प्रधानमन्त्रीको च्याखे दाउ मार्न सक्छन् । त्यसो हुँदा राष्ट्रिय पार्टीसमेत बन्न नसकेको १० सिटमा एक वर्ष प्रधानमत्री बन्ने सपना देखेका समाजवादी अध्यक्ष माधवकुमार नेपाल मुर्छा पर्ने छन् त सात पटक प्रधानमन्त्री बन्ने भनेर ज्योतिषले भविष्यवाणी गरेका काङ्ग्रेस सभापति शेरबहादुर देउवाको ज्योतिष पनि फ्लप जाने छ । अर्कोतर्फ युवा प्रधामन्त्रीको हल्ला पिटेर चुनाव जितेका महामन्त्री गगन थापाको सपना युवा प्रधानमन्त्री आफू नभई रवि लामिछाने बनेर पूरा नगर्लान् भन्न सकिने अवस्था छैन ।

किनकी, प्रचण्ड नै त्यो पात्र हुन् जसले नेपाली राजनीतिको चाबी आफ्नो हातमा लिएर अरुलाई प्रधानमन्त्री बनाउन उद्यत हुन्छन् । यसपटक प्रचण्डले आफूसहित नयाँ पात्र रवि लामिछानेलाई पनि आलोपालो प्रधानमन्त्री बनाउने हल्लाले राजनीतिक बजार तातेको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७