युरोपेली संघले गर्‍यो चीनबाट हुने यात्रामाथि नियन्त्रण गर्न सिफारिस

काठमाडाैं । चीनबाट आउने हरेक यात्रीमाथि कडाई गर्न विपद्‌ नियन्त्रणसम्बन्धी युरोपेली संघका अधिकारीहरूले सिफारिस गरेका छन् ।

चीनबाट प्रस्थान गर्नुअघि कोरोना परीक्षण गराइएको नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने, आगमनका बेला पनि परीक्षण गराउनुपर्ने र उडान अवधिमा अनिवार्य मास्क लगाउनुपर्नेलगायतका व्यवस्था गर्न सिफारिस गरिएको हो ।

यसैबीच, हवाई यात्राका क्रममा प्रयोग भएको पानीमा पनि भाइरसबारे परीक्षण गर्न विज्ञहरूले सुझाव दिएको बीबीसीले जनाएको छ ।

युरोपेली संघका बहुमत सदस्य राष्ट्रहरू चीनबाट आउने यात्रीमा यात्रा प्रतिबन्ध लगाउने पक्षमा रहेको युरोपेली आयोगले बताएको भोलिपल्ट यस्तो सिफारिस आएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमाका अनुसार चीनले अहिले व्यापक मात्रामा कोरोनाभाइरस सङ्क्रमणको सामना गरिरहेको छ । बिरामीको चापले अस्पतालहरू भरिएका छन् ।

यसैबीच, विश्वस्वास्थ्य सङ्गठन डब्ल्यूएचओले चीनमा कोभिडको नयाँ भेरिअन्ट देखिएको प्रमाण नपाइएको जनाएको छ ।

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७