ताप्लेजुङमा निःशुल्क आँखा शिविरमा ७० जना मोतियाविन्दुका बिरामीको शल्यक्रिया

काठमाडौँ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा शिविरमा ७० जना मोतियाविन्दुका बिरामीको शल्यक्रिया गरिएको छ । तिलगङ्गा आँखा प्रतिष्ठान र फक्ताङलुङ गाउँपालिकाद्वारा आयोजित शिविरमा मोतियाविन्दुको समस्या देखिएका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको हो ।

फागुन ८ गतेदेखि यस गाउँपालिकाका विभिन्न ठाउँमा भएको आँखा जाँच तथा सामान्य उपचारका क्रममा भेटिएका मोतियाविन्दुका बिरामीको गत शनिबार र आइतबार शल्यक्रिया भएको हो ।

नेत्र रोग विशेषज्ञ चिकित्सक सन्दुक रुइतसहित आँखाका स्वास्थ्यकर्मीको टोलीले शल्यक्रिया गरेको हो ।

शिविरमा २ हजार चार सय ३० जना आँखाका बिरामीको जाँच तथा सामान्य उपचार भएको छ ।

गाउँपालिकाको केन्द्र तापेथोकमा शल्यक्रिया गर्ने व्यवस्थापन गरेर मोतियाविन्दुको समस्यामा परेकाको उपचार भएको गाउँपालिका प्रमुख मुक्ति लाबुङको भनाइ छ ।

बिरामीलाई शल्यक्रिया गर्ने स्थानसम्म आउन सवारी साधन र खानबस्नेको व्यवस्था गाउँपालिकाले गरेको थियो ।

जटिल समस्या देखिएका ४ जनालाई भने तिलगङ्गा आँखा अस्पतालमा उपचारका लागि सिफारिस भएको छ ।

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७