
काठमाडौं । आज विक्रम संवत् दुई हजार असी (२०८०) साल वैशाख १ गते, अर्थात् नयाँ वर्षको पहिलो दिन ।
नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी नयाँ वर्ष हर्षोल्लास साथ मनाइँदैछ ।
नयाँ वर्षको अवसरमा राष्ट्रपतिदेखि प्रधानमन्त्री तथा दलका नेतासम्मले शुभकामना सन्देश जारी गरेका छन् । त्यसो त नेपालीहरुले पनि एक आपसमा सुभकामना साटासाट गरिरहेका छन् ।
नयाँ वर्षको अवसरमा सुभकामना सन्देश जारी गर्दे राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका अपार स्रोत, सम्पदा र सम्भावनाको उद्घाटन गरी एउटा सबल र समुन्नत नेपाल निर्माण गर्न कटिबद्ध हुनुपर्नेमा जोड दिएका छन् ।
राष्ट्रपति पौडेलले व्याप्त निराशालाई चिर्दै देशमा राजनीतिक स्थिरता र सुशासन कायम गरी श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्नुपर्ने उल्लेख गरेका छन्।
उनले भनेका छन्, ‘सार्वभौमिक सत्ता सम्पन्न जनताका प्रतिनिधिहरूबाट निर्मित विधि र पद्धतिबमोजिम संसदीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था चल्ने चलाउने भन्ने नै संवैधानिक राष्ट्रिय प्रतिज्ञा र घोषणा भएकाले मुलुक सोहीअनुरूप अघि बढ्नु पर्दछ भन्नेमा मेरो प्रतिबद्धता छ ।’
राष्ट्रपति पौडेलले संवैधानिक कर्तव्य र जिम्मेवारी पूरा गर्दा वा जुनसुकै कार्य पनि लोकतान्त्रिक मूल्य, मान्यता र परम्परालाई आत्मसात् गरे मात्र मुलुकमा शान्ति, विकास र समृद्धि कायम भई समाजवादतर्फ उन्मुख हुने विश्वाससमेत व्यक्त गरेका छन् ।
‘तर, जो कसैको पनि स्थापित विधि विपरीतको सक्रियता तथा कुनै निहित स्वार्थ प्राप्तिको आतुरताले बामे सर्दै अघि बढेको लोकतान्त्रिक परिपाटी मजबुत हुँदैन, त्यसतर्फ हामी सबै सचेत हुनुपर्दछ । पारदर्शिता, जवाफदेहिता र सुशासन लोकतन्त्रका आधार स्तम्भ हुन, यिनै अवयवको सही कार्यान्वयनबाट नै लोकतन्त्रप्रति जनताको भरोसा जागृत हुनेछ भन्ने मेरो दृढ विश्वास छ’, शुभकामना सन्देशमा भनिएको छ ।
आर्थिकरूपमा देश सबल र सक्षम हुनुपर्दछ भन्ने मान्यता सबैको भए पनि केही समययता बाह्य एवं आन्तरिक कारणहरूले अर्थतन्त्रमा परेको प्रतिकूल असर र जनतालाई यसले पारेको नकारात्मक प्रभावबाट जतिसक्दो छिटो मुलुकले निकास पाउनुपर्ने उनको भनाइ छ ।
त्यस्तै उपराष्ट्रपति रामसहायप्रसाद यादवले नयाँ वर्षले देशमा दीगो शान्ति, सुदृढ राष्ट्रिय एकता र सामाजिक सद्भावसहित आर्थिक समृद्धिका लागि नयाँ जोश, जाँगर, उत्साह थप्ने विश्वास व्यक्त गरेका छन् ।
नयाँ वर्ष २०८० को अवसरमा शुभकामना सन्देश दिँदै उनले नयाँ वर्षमा उमङ्गका साथ समाजमा विद्यमान सबैखाले शोषण, उत्पीडन र विभेदको अन्त्य गर्दै सङ्घीयता, सुशासन, समृद्धि र समाजवादको लक्ष्य हासिल गर्न तथा शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न प्रेरित गरोस् भनी कामना गरे ।
उपराष्ट्रपति यादवले देशमा प्राकृतिक बरदानको रुपमा रहेको जल, जमिन, जङ्गल, जडीबुुटी र जनशक्ति जस्ता महत्वपूर्ण स्रोतसाधनको उच्चतम सदुपयोग गरी मुलुकलाई तीव्र आर्थिक विकासको बाटोमा डोर्याउन लक्षित हुनुपर्नेमा जोड दिए । उनले दीगो विकासको लक्ष्य हासिल गर्न तथा सामाजिक न्यायसहितको समातामूलक समाज स्थापना गर्न आह्वान गरे ।