दाङकाे देउखुरीमा दुई बस ठोक्किँदा एक जनाको मृत्यु, २९ घाइते

काठमाडौं । दाङको देउखुरीमा दुई बस आपसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । २९ जना घाइते भएका छन् ।

शुक्रबार बिहान ६ः२० बजे पूर्वपश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका –३ फल्कापुरमा दुई बस आपसमा ठोक्किँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घनामा परी मृत्यु हुनेमा रोल्पाको रुन्टीगढी –७ की ४३ वर्षीया शोभा परियार छिन् । उनका दुई छोरापनि घाइते छन् । परियार बाराबाट इट्टा भट्टामा काम गरेर घर फर्कदै थिइन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु २ ख ७८५ नम्बरको बस र पूर्वबाट पश्चिम आउँदै गरेको ना ५ ख ४८९८ नम्बरको बस आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुई बस ठोक्किएपछि लोकल बसमा आगो लागेको थियो । दमकल र स्थानीयको सहयोगमा आगो निभाइएको थियो ।

पूर्व जाँदै गरेको बस लमही–भालुवाङ रूटमा चल्ने लोकल बस हो । उक्त बसमा चालक र सहचालक मात्र रहेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनाका घाइतेमध्ये लु २ ख ७८५ नम्बरका चालक तुल्सीराम रामीजाल र अर्की एक महिलाको अवस्था गम्भीर रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरीले जानकारी दिए ।

घाइतेमध्ये ७ जनालाई भैरहवा, ३ जनालाई घोराही र २ जनालाई नेपालगञ्ज उपचारका लागि पठाइएको छ ।

स्थानीय रूटमा चल्ने बस तीव्र गतिमा रहेका कारण दुर्घटना हुन पुगेको अनुमान छ । यसबारे थप अनुसन्धान भइरहेको छ ।

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७