फ्राइडे रिलिज: ‘हुक्का’ भर्सेस ‘टुल्की’

काठमाडौ‌‍‍‍‍ । फ्राइडे रिलिज अन्तर्गत (आज) शुक्रबारदेखि दुई नयाँ नेपाली फिल्म ‘हुक्का’ र ‘टुल्की’ प्रदर्शनमा आएका छन् ।

देशभरका हलबाट एकसाथ प्रदर्शनमा आएको दुवै फिल्म फरक फरक विषयवस्तुमा बनेको छ । ‘टुल्की’का निर्देशक देवजंग थापा हुन्, भने ‘हुक्का’ निर्देशक शम्भु थापा हुन् ।

देवजंग थापाद्वारा निर्देशित ‘टुल्की’ हिमाली क्षेत्रमा प्रचलित बहुपति प्रथामा आधारित फिल्म हो । द पाल्म ग्रुप प्रालिको ब्यानरमा निर्माण गरिएको फिल्मको छायांकन हिमाली जिल्ला डोल्पामा गरिएको छ ।

शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपाने लगायत कलाकारको अभिनय छ ।

‘टुल्की’ले नेपाल ग्रामिण चलचित्र महोत्सव २०७९ मा उत्कृष्ट फिचर फिल्म तथा ‘स्क्रिन प्ले’ अवार्ड जित्न सफल भएको थियो । फिल्मका छायांकार शुसिल अधिकारी तथा नमराज घिमिरे हुन् ।शेखर लामाको प्रस्तुतिमा निर्माण भएको यो फिल्मका निर्माता आरपी कर्माचार्य तथा उजेली लामा हुनु । यो फिल्मको कथा लक्ष्मण सुनारले लेखेका हुन्, भने स्क्रिन प्ले शेखर लामाको छ । फिल्ममा सम्पादन तारा थापा किम्भेको, पाश्र्व संगीत संजिव सुब्बाको, कोरियोग्राफी लिगेश भट्टराई र रमेश बुढाथोकीको छ ।

‘हुक्का’को कथावस्तु अग्रजले प्रयोग गर्ने हुक्कासँग जोडिएको मनोविज्ञानमा आधारित छ । स्पाइनी बाबलर क्रिएसनले हृयासट्याग नेपालसँगको सहकार्यमा निर्माण गरेको ‘हुक्का’ मा प्रमिला खनाल, प्रकाश घिमिरे र तेज गिरी, अशु न्यौपाने, तलिशा गुरुङ, निश्चल विमल, एलिसा विक, सन्तोषकुमार आत्रेयलगायतका कलाकारको अभिनय छ ।

‘हुक्का’मा सन्तोषकुमार आत्रेयको कथा, लेखक आत्रेय र भगवान् पौडेलको पटकथा तथा संवाद, दीर्घ खड्काको सम्पादन र कृष्णबहादुर थापाको छायांंकन छ ।

 

 

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७