यो फिल्मले ५ दिनमै उठायो लगानी, ‘आरआरआर’ का निर्देशकले समेत गरे तारिफ

काठमाडौं । पछिल्ला केही वर्षयता दक्षिण भारतीय फिल्महरूले कमाइको मामिलामा बक्सअफिसमा नयाँनयाँ रेकर्ड बनाइरहेका छन् ।

अझ कम बजेटमा बनेका फिल्महरूले राम्रो कमाइ गरेर सबैलाई चकित पारिरहेका छन् । हालै रिलिज भएको एउटा तेलेगू फिल्म यसको उदाहरण हो ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार ‘मेम फेमस’ नामक कमेडी फिल्म दर्शकहरूले खुबै रूचाएका छन् । सामाजिक सञ्जालहरूमा यो फिल्मको प्रशंसा भइरहेको छ ।

यति मात्र होइन, यो फिल्म रिलिज भएको जम्मा पाँच दिनमै आफ्नो बजेट उकासिसकेको छ। यो फिल्म जम्मा तीन करोड भारूमा बनेको हो ।

‘मेम फेमस’ ले पाँच दिनमा दुई करोड ९३ लाख भारू कमाइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसले पहिलो दिन ७४ लाख भारू कमाइ गरेको फिल्मले दोस्रो दिन ७३ र तेस्रो तीन ७२ लाख भारू कमाएको थियो । त्यस्तै चौथो दिन ३८ लाख र पाचौं दिन ३५ लाख भारू कमाएको छ ।

‘मेम फेमस’ले आगामी दिनमा अझै राम्रो कमाइ गर्ने ट्रेड एनालिस्टहरूको अनुमान छ ।

दर्शकले यो फिल्म मात्र होइन, यसका कलाकारहरूलाई पनि रूचाएका छन् ।

‘आरआरआर’ निर्देशक एसएस राजामौलीले पनि यो फिल्मको तारिफ गरेका छन् ।

उनले आफ्नो ट्विटरमा लेखेका छन्, ‘लामो समयपछि थिएटरमा गएर एउटा फिल्मको पूर्ण रूपमा आनन्द लिएँ । यो सुमन्त भन्ने केटासँग सावधान रहनुहोस् । एक अभिनेता र निर्देशक दुवैका रूपमा यिनको भविष्य उज्ज्वल छ । सबै पात्रहरूलाई राम्रोसँग प्रस्तुत गरिएको छ । र कलाकारहरूको अभिनय पनि राम्रो छ ।’

सुमन्त प्रभास यो फिल्मका अभिनेता तथा निर्देशक हुन् ।

 

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७