जीप दुर्घटना अपडेट : मृतकको सङ्ख्या ७ पुग्यो

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–९ मा जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ७ पुगेको छ । गम्भीर घाइते भएका थप एकजनाको पनि मृत्यु भएपछि मृत्यु हुनेको संख्या ७ पुगेको हो । दुर्घटनामा गम्भीर घाइते मध्यविन्दु नगरपालिका–२ का चिरन अर्यालको उपचारका क्रममा मृत्यु भएको हो ।

बौदीकाली गाउँपालिका माझडाँडाबाट दलदले बजारतर्फ आउँदै गरेको लु१ज ३२७० नम्बरको जीप देवचुली नगरपालिका–९ गोरेघुम्तीमा दुर्घटना भएको थियो । गम्भीर घाइते अर्यालको उपचारको क्रममा चितवनस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए । तीन महिला र तीन पुरुषको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनास्थलमै मृत्यु भएका ६ जनामध्ये हालसम्म पाँच जनाको परिचय खुलेको प्रहरी नायब उपरीक्षक पौडेलले जानकारी दिए। दुर्घटनामा मृत्यु हुनेमा जीप चालक बौदीकाली–६ माझडाँडाका २६ वर्षीय बहादुर आले मगर, सोही ठाउँका ५५ वर्षीय टेकमान वानटक्की मगर, ५२ वर्षीया कुमारी राना र ४५ वर्षीया कमला वानटक्की मगर तथा बुलिङटार गाउँपालिका–४ चुलिबोझाकी १२ वर्षीया करिष्मा ठाडा रहेका छन् ।

मृतक एक जनाको अझै परिचय खुल्न सकेको छैन । उक्त जीप अनियन्त्रित भई सडक छेउको घरमा ठोक्किएको थियो ।

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७