गाडीको ठक्करबाट सशस्त्र प्रहरी नायव निरीक्षकको मृत्यु, घट्ना रहस्यमय

काठमाडौ । अवैध मदिरा नियन्त्रणमा लिन मध्यरातमा बोर्डरमा खटिएका सशस्त्र प्रहरी नायव निरीक्षक लक्ष्मण यादवको हत्या भएको छ ।नेपालबाट भारततर्फ अवैध मदिरा तस्करी निकासी गर्ने तस्करको स्कारपियो गाडीले भारतीय सीमा नजिकै सिरहाको बरियारपट्टी गाउँपालिका पाँच कचनारी गाउँमा यादवलाई ठक्कर दिएको थियो ।

शनिवार अन्दाजी राति १२ बजेतिर भारततर्फ हुकिएर जाँदै गरेको स्कारपियोलाई चेकजाँच गर्ने उद्देश्यले सई यादवले रोक्न खोज्दा उक्त गाडीले किचेर भारततर्फ भागेको नाम उल्लेख नगर्ने शर्तमा एक प्रत्यक्षदर्शीले बताए ।यादवको कमाण्डमा रहेका अन्य सुरक्षाकर्मीहरुले जिल्लास्थित सशस्त्र प्रहरी हेडक्वाटरमा घटनाबारे सूचना गरेका थिए । यादवको शव पोष्टमार्टमको लागि लहान अस्पताल पुयाइएको छ । मृतक यादव सिरहाकै नरहा गाउँपालिका वडा नं. ५ का बासिन्दा हुन् ।

प्रहरीले हत्यारा मदिरा तस्कर, सवारी साधन स्कारपियो र सवारी चालकलाई पक्राउ गर्न नसकेको भन्दै लहानमा केहीबेर राजमार्ग अवरुद्ध पारेका थिए । प्रहरीले सामान्य बल प्रयोग गरेर राजमार्ग खुलाएपनि परिवारजनले शव बुझ्न मानेका छैनन् । लहान बजार केहीबेर तनावग्रस्त भएको थियो ।प्रहरीले एकजना संदिग्ध व्यक्तिलाई पक्राउ गरिएको जनाएको छ तर उसको नाम सार्वजनिक गरेको छैन ।यता परिवारजनले प्रहरीले पक्राउ गरेको एक जनाको नाम तत्काल सार्वजनिक गर्नुपर्ने, यादवको कमाण्डमा खटिएका अन्य सशस्त्र प्रहरीका जवानहरुको नाम सार्वजनिक गर्नुपर्ने र उनीहरुको वयान लिनुपर्ने अडान लिएको छ ।यादवका परिवारजन सालो रञ्जित कुमार यादवले माथिल्लो तहका अधिकारीहरुले तस्करसँग अनुचित सौदावाजी गरेर सई लक्ष्मण यादवको सुनियोजित तरिकाले हत्या गराएको आरोप लगाएका छन् ।

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१