ओमानविरुद्ध नेपालको बलियो प्रदर्शन, दोस्रो जित दर्ता

काठमाडौं। स्पीनर युवराज खत्रीको घातक बलिङ र ओपनरहरूको उत्कृष्ट प्रदर्शनमा नेपालले आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हात पारेको छ। माथिल्लो मुलपानी मैदानमा सोमबार सम्पन्न खेलमा नेपालले ओमानलाई ८ विकेटले पराजित गरेको हो। ११८ रनको सामान्य लक्ष्य नेपालले १४.३ ओभरमा मात्र २ विकेट गुमाउँदै पुरा गर्‍यो।

नेपालका ओपनर निरज यादवले २७ बलमा आक्रामक ४६ रन बनाए भने साहिल पटेलले अविजित ४४ रन जोडे। दुबै खेलाडीले ओमानका बलरमाथि दबाब कायम राख्दै सहज जितमा टेवा पुर्‍याए। ओमानका सौम्या भविनले २ विकेट लिए।त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानलाई युवराज खत्रीको उत्कृष्ट बलिङले ध्वस्त पारेको थियो। उनले ७ ओभरमा मात्र १५ रन खर्चेर ५ विकेट लिए। ओमान ३८ ओभरमै ११७ रनमा समेटियो।

नेपालका लागि सन्तोष यादवले २ विकेट लिए भने दयानन्द मण्डल, अशोक धामी र अपराजित पौडेलले १/१ विकेट झारे।नेपालले यसअघि पहिलो खेलमा युएईलाई हराएको थियो। अब तेस्रो खेलमा नेपाल बुधबार हङकङसँग भिड्नेछ। यता अफगानिस्तानले पनि आज हङकङलाई पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ।नेपाल, अफगानिस्तान, हङकङ, ओमान र युएई सम्मिलित यस छनोट प्रतियोगिताको विजेता टोलीले २०२६ मा आयोजना हुने आईसीसी यू–१९ विश्वकपका लागि स्थान बनाउनेछ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१