
वरिष्ठ कलाकार सुरवीर पण्डितले हालै अभिनय गरेको एक क्रिस्चियन धर्मप्रचार गीतलाई लिएर उत्पन्न विवादपछि सार्वजनिक रूपमा क्षमायाचना गरेका छन्।माफी माग्दै अबदेखि आफ्नै धर्म र संस्कृतिको संरक्षणमा लाग्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।
सुरवीर र अर्का कलाकार रामचन्द्र अधिकारीले अभिनय गरेको उक्त गीतको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि आलोचना सुरु भएको थियो। धेरैले यो सामग्रीले धार्मिक भावनामा चोट पुर्याएको भन्दै दुबै कलाकारप्रति असन्तुष्टि जनाएका थिए।
‘मेरी बास्सै’ टेलिश्रृंखलाको छायांकनस्थलबाट भिडियो सन्देशमार्फत बोल्दै सुरवीरले जनभावनामा ठेस पुगेको भन्दै माफी मागेका छन्। उनले स्पष्ट पारेका छन् कि आफूहरूलाई कसैको धर्म वा भावना आहत पार्ने कुनै मनसाय थिएन, केवल कलाकारिताको रूपमा गीतमा काम गरिएको थियो।
सुरवीरले भविष्यमा यस्ता काम नगर्ने वाचा गर्दै सबैबाट आशीर्वाद र क्षमा मागेका छन्। साथै, पाँचथरमा सुटिङमा रहेका रामचन्द्र अधिकारीका तर्फबाट पनि क्षमा माग्दै उहाँलाई पनि माफ गरिदिन आग्रह गरेका छन्।