
काठमाडौं । सांसद राजेन्द्रप्रसाद पाण्डेले लामो समयदेखि थन्किएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना अघि बढाउनुपर्नेमा जोड दिएका छन्। बुधबार प्रतिनिधिसभाको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको (प्री-बजेट) छलफलमा भाग लिँदै उनले विमानस्थलको अध्ययन सम्पन्न भइसकेपनि आयोजना अलपत्र परेको उल्लेख गरे।
उनले निर्माणाधीन राष्ट्रिय गौरवका आयोजना गेम चेन्जर प्रोजेक्टको रूपमा बजेटमा प्राथमिकता दिई तीव्र गतिमा अगाडि बढाउनुपर्ने धारणा राखे। “तराई–मधेस फास्ट ट्र्याक, बुढीगण्डकी जलविद्युत आयोजना तथा अन्य जलाशययुक्त आयोजना निर्माणमा विशेष ध्यान दिनुपर्छ,” पाण्डेले भने, “निजगढ विमानस्थल निर्माण गर्न सकिएको खण्डमा देशको आर्थिक र रणनीतिक फाइदा उल्लेखनीय हुनेथियो।”
उनले अधकल्चो अवस्थामा रहेका पुष्पलाल मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग र मदन भण्डारी राजमार्ग सम्पन्न गर्ने गरी बजेट ल्याउन सरकारलाई आग्रह गरे।त्यस्तै, प्रधानमन्त्रीले सिंहदरबारबाट ‘रिमोट थिचेर’ ५ सय्याका अस्पताल प्रत्येक पालिकामा बनाउने घोषणा गरे पनि त्यसको कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै पाण्डेले आउँदो बजेटमा त्यसतर्फ विशेष ध्यान दिन अर्थमन्त्रीलाई आग्रह गरे।