सन्दीप लामिछानेले गरे क्यानसँगको सम्झौतामा नरहने घोषणा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) सँगको केन्द्रीय सम्झौताबाट पछि हट्ने निर्णय गरेका छन्।

बुधबार आगामी सिरिजका लागि टोलीलाई विदाइ गरिएको केही समयपछि सन्दीपले सामाजिक सञ्जालमार्फत उक्त निर्णय सार्वजनिक गरेका हुन्। हाल उनी क्यानको केन्द्रीय सम्झौता अन्तर्गत ‘क्याटेगोरी ए’ मा रहेका थिए।अचानक आएको यो निर्णयले उनी नेपाली क्रिकेटबाट नै अलगिन लागेका हुन् कि भन्ने अडकलबाजी सुरु भएको छ।

उनका समर्थकहरू निराश देखिएका छन्, भने विश्लेषकहरूले उनको अनुपस्थिति टोलीका लागि चुनौतीपूर्ण हुन सक्ने बताएका छन्।तर, सन्दीपले यो कदम राष्ट्र वा क्रिकेटबाट टाढा रहने संकेत नभएको स्पष्ट पारेका छन्। “यो मेरो क्रिकेट यात्रा वा राष्ट्रप्रतिको प्रतिबद्धताबाट पछि हट्ने निर्णय होइन,” उनले भनेका छन्, “म राष्ट्रिय टोलीको सदस्यको रूपमा सधैं खेल्न तयार छु।”

सन्दीपले नेपाल क्रिकेट संघप्रति कृतज्ञता व्यक्त गर्दै आफ्नो अनुभव र योगदानमार्फत अझ धेरै दिन बाँकी रहेको उल्लेख गरेका छन्। “क्यानले मेरो यात्रा र नेपालको क्रिकेटलाई अगाडि बढाउन खेलेको भूमिकाको म उच्च सम्मान गर्छु,” उनले लेखेका छन्।

उनले लिग-२ अन्तर्गत आगामी जुन २ देखि १० सम्म स्कटल्याण्ड र नेदरल्याण्डसँग खेलिने त्रिपक्षीय सिरिजका लागि टोलीसँगै स्कटल्याण्ड जाने तयारी गरिरहेका छन्। यद्यपि, उनको सम्झौता नवीकरण नगर्ने निर्णयमा क्यानले हालसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन। संघले छलफलपछि निर्णय लिने बताएको छ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१