पूर्व युवराज्ञी हिमानी शाहले भनिन्– कर्णालीका लागि अझै धेरै काम गर्न बाँकी छ

काठमाडौं। पूर्व युवराज्ञी हिमानी शाहले हालै कर्णाली प्रदेशको भ्रमण गरेकी छन्। छोरा हृदयेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीसहित् कर्णाली पुगेकी शाहले जुम्लामा हिमानी ट्रष्टद्वारा निर्मित प्रसूति केन्द्रको उद्घाटन गरेकी हुन्।

भ्रमणका क्रममा उनले कर्णालीको प्राकृतिक सौन्दर्य र त्यहाँका नागरिकको अवस्थालाई नजिकबाट नियाल्ने अवसर पाएको बताइन्। नेपालगञ्ज विमानस्थलमा पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै पूर्व युवराज्ञी शाहले कर्णालीको यात्रा रमणीय रहेको बताइन्। उनले भनिन्, ‘हाम्रो यो प्रकृतिको सुन्दर, हरियो देश रमणीय हुन्छ, सबैलाई रमणीय लाग्छ, मलाई पनि लाग्यो।’

उनले कर्णालीका नागरिकसँग घुलमिल हुँदा र उनीहरूको दुःख देख्दा त्यहाँ विकासका धेरै काम गर्नुपर्ने आवश्यकता महसुस गरेको बताइन्। ‘त्यहाँका मानिसहरूसँग घुलमिल गर्दा, उहाँहरूको दुःख देख्दाखेरि गर्नुपर्ने काम धेरै छ जस्तो लाग्छ,’ उनले भनिन्।

हिमानी ट्रष्टको तर्फबाट जुम्लामा प्रसूति केन्द्र निर्माण सम्पन्न गरी उद्घाटन गर्न पाउँदा खुसी व्यक्त गर्दै उनले जुम्लाबासीबाट पाएको माया र स्नेहप्रति आभार प्रकट गरिन्। शाहले भनिन्, ‘माया दिनुभएको छ, म उहाँहरूलाई धन्यवाद भन्छु। उहाँहरूको माया, स्नेह पाइरहेकी छु।’

कर्णालीबासी र आम नेपालीलाई सन्देश दिँदै उनले सबै मिलेर देशका लागि सक्दो मद्दत र काम गर्नुपर्नेमा जोड दिइन्।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१