निलम्बनमा परेका माधवकुमार नेपाललाई संसदीय दलको नेताबाट हटाउन माग

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल हाल संसदबाट निलम्बनमा परेका छन्। पतञ्जली जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी निलम्बित भएका हुन्।

सांसदको हैसियत गुमाइसकेका व्यक्तिले संसदीय दलको नेताको जिम्मेवारी सम्हाल्नु उचित नहुने भन्दै पार्टीभित्रै उनलाई हटाउने माग उठेको छ। केही नेताहरूले अध्यक्ष नेपालसँगै भेट गरी नयाँ दलको नेता चयन गर्नुपर्ने माग राखेका थिए। तर त्यसपछि न संसदीय दलको बैठक बोलाइएको छ, न पार्टीस्तरमा छलफल नै भएको छ।

एक नेताका अनुसार अख्तियारले मुद्दा दर्ता गरेदेखि पार्टीको कुनै पनि तहको बैठक बसेको छैन। कानूनी आरोप लागेको अवस्थामा अध्यक्षले नैतिक जिम्मेवारी वहन गर्दै नेतृत्वबाट अलग हुनु उपयुक्त हुने बताउँदै, वरिष्ठ नेता झलनाथ खनालले पनि यसबारे प्रारम्भिक रूपमा यस्तै धारणा राखेको जनाइएको छ।

पार्टी महासचिव घनश्याम भुसालले अध्यक्ष नेपाल हाल कानूनी सल्लाहमा व्यस्त रहेकाले दलको नेताको विषयमा औपचारिक रूपमा छलफल गर्न नपाइएको बताएका छन्।

यसै विषयमा सांसद कृष्णबहादुर ‘किसान’ श्रेष्ठले पनि संसदीय दलको बैठक नबसेको जानकारी दिए। उनको भनाइमा, कसलाई हटाउने भन्ने निर्णय माथिल्लो तहले गर्ने हो।

हाल वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे संसदीय दलका उपनेता पनि हुन्। संसदमा बोल्ने वा समन्वय गर्नुपर्ने काम उनीमार्फत हुँदै आएको छ। तर औपचारिक रूपमा दलको नयाँ नेता नियुक्त गर्नुपर्ने माग पार्टीभित्र उठिरहेको छ।

संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार माधवकुमार नेपाल निलम्बनमा परेपछि सांसदका रूपमा पाउने सबै सेवा-सुविधा रोकिएको छ। यद्यपि, पूर्वप्रधानमन्त्रीका रूपमा उपलब्ध हुने सुरक्षा, सवारी र इन्धन सुविधाहरू भने यथावत् रहेका छन्।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१