
नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरी नेता डा.शेखर कोइरालामाथी खनिएका छन्। मंगलबार बसेको केन्द्रीय समिति बैठकमा चौधरीले डा. कोइरालाले सोमबार राखेका अभिव्यक्तिको प्रतिवाद गर्दै ती आरोप अनुचित तथा निराधार रहेको बताए ।
डा. कोइरालाले सोमबारको बैठकमा चौधरीले पार्टी विधानअनुसार केन्द्रीय सदस्य बन्ने योग्यता नपुगेको कुरा उठाएका थिए। कांग्रेसको विधान अनुसार, केन्द्रीय सदस्य बन्न कम्तिमा १० वर्षको क्रियाशील सदस्यताको अनुभव आवश्यक हुन्छ। चौधरीले उक्त मापदण्ड नपुगी उम्मेदवारी दिएको भन्दै कोइरालाले सभापति शेरबहादुर देउवालाई जवाफ दिन आग्रह गरेका थिए।
चौधरीले आफ्नो उम्मेदवारी कानुनी प्रक्रिया, पार्टीको नियम र अदालतको निर्णयअनुसार भएको स्पष्ट पार्दै कोइरालाको भनाइको प्रतिवाद गरे। चौधरीले कोइरालापक्षले आफ्नाविरुद्ध हृदयश त्रिपाठीलाई सहयोग गरेको आरोप पनि लगाए।
‘लुम्बिनी प्रदेशको महामन्त्री पदमा रहेका व्यक्तिलाई बोकेर हिँड्ने कोइरालाजस्ता नेताले पार्टी सञ्चालन गर्ने हो भने भोलि कांग्रेसको अवस्था के हुन्छ?’ भन्ने प्रश्न चौधरीले उठाएका छन् ।
उक्त महामन्त्री विक्रम खनाल कोइरालाका निकट मानिन्छन्।
अन्त्यमा, चौधरीले सभापति देउवा र महामन्त्री गगन थापाले अघि सारेको नयाँ आर्थिक दृष्टिकोणप्रति समर्थन जनाउँदै अर्का पक्षका अभिव्यक्तिले पार्टीभित्र विवाद निम्त्याउने खतरा रहेको बताए।