पार्टीमा परिवारवाद: दाजुलाई उपाध्यक्ष बनाउने सिके राउतको निर्णय, तीव्र आलोचना

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफ्ना दाजु डा. जयकान्त राउतलाई राष्ट्रिय उपाध्यक्षमा मनोनीत गरेपछि पार्टीभित्र तथा बाहिर तीव्र आलोचना चुलिएको छ ।

पहिले नै पार्टीको राष्ट्रिय परिषद्का अध्यक्ष तथा संगठन विभाग प्रमुख रहेका जयकान्त राउतलाई थप उपाध्यक्ष बनाइएको निर्णयलाई धेरैले ‘खुला परिवारवाद’ भन्दै आलोचना गरिरहेका छन् ।

पार्टीको स्थायी समिति सदस्य इन्जिनियर दीपक साहले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त निर्णयको कडा विरोध जनाएका छन् । साहका अनुसार अध्यक्ष राउतले परिवारका सदस्यहरूलाई नेतृत्वमा उकास्ने प्रवृत्तिले संस्थागत राजनीतिमा गम्भीर क्षति पुर्‍याएको छ ।

डा. राउतले यसअघि बबिताकुमारी राउतलाई पनि पार्टी उपाध्यक्ष बनाउँदै प्रदेशसभाको उपसभामुखको जिम्मेवारी दिएका थिए । यसपटक आफ्नै दाजुलाई राष्ट्रिय उपाध्यक्ष बनाइनुले पार्टीभित्र पात्रको उपेक्षा र सन्तुलन भत्किएको साहको दाबी छ ।

साहले पार्टीभित्रको आन्तरिक लोकतन्त्र, पारदर्शिता र सामूहिक निर्णय प्रक्रियामाथि समेत प्रश्न उठाएका छन् । उनले भनेका छन्, “नेतृत्व विकास सङ्घर्ष र समर्पणको आधारमा होस्, पारिवारिक सञ्जालको आधारमा पद बाँडफाँट बन्द गरियोस् ।”

त्यस्तै, अर्को उपाध्यक्षमा मनोनीत दानबहादुर चौधरीप्रति पनि उनले असन्तोष व्यक्त गरेका छन् । वर्तमान उपाध्यक्ष नरेन्द्र चौधरीका दाजु रहेका दानबहादुर विगतमा अन्य पार्टीसँग आबद्ध रहेको भन्दै उनलाई जिम्मेवारी दिनु पार्टी मूल्य र आदर्शमाथिको प्रहार भएको उनले उल्लेख गरेका छन् ।

साहका अनुसार पार्टी निर्माणमा योगदान दिएका कवीन्द्र यादव, सुरेन्द्रनारायण यादवजस्ता समर्पित नेताहरूको निरन्तर उपेक्षा भइरहेको छ । उनले चेतावनी दिँदै भनेका छन्, “आत्मसमीक्षा, आलोचना र सुधारको संस्कृति नअँगालेसम्म जनमत पार्टीले मधेसका जनताको नेतृत्व गर्न सक्दैन ।”

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१