काठमाडौं । सरकारले तिहारमा चिनी अभाव हुन नदिने भएको छ।
बिहीबारको प्रधानमन्त्रीको आह्वानमा बसेको बैठकमा नेपाल प्रहरीले सबै चिनी उद्योगको भण्डारण तथ्यांक जाँच गर्ने तथा सोका आधारमा बजारमा चिनी पठाउन उद्योगीहरूसँग छलफल गरिने निर्णय भएको छ।
हालसम्म ३ हजार मेट्रिक टन चिनी बजारमा पठाउने पनि सुनिश्चित गरिएको छ।
नेपाल साल्ट ट्रेडिङले शुक्रबार नै उक्त चिनी खरिद गरी खुद्रा उपभोक्तामार्फत बजारमा ल्याउनेछ। साल्ट ट्रेडिङसँग यसअघि नै १६ सय मेट्रिक टन चिनी मौज्दात छ।
चिनी उद्योगहरूको भण्डार तथ्यांकका आधारमा आमउपभोक्ताको माग पूर्ति गर्न बजारमा चिनी पठाउन समन्वय गरिने र अनुगमन समेत तीव्र पारिने भएको छ।
हाल कतिपय पसलले एक सय साठी रूपैयाँ खुद्रा मूल्य तोकी चिनी बिक्री गरिरहेको सूचना समेत प्राप्त भएकाले त्यसमा समेत विशेष अनुसन्धान गर्न नेपाल प्रहरीले उपत्यकाका सबै प्रहरी वृत्तलाई विशेष निर्देशन दिइसकेको छ।
यसका साथै अवैध ढंगले भित्रिएको या गोदाममा थन्किएको चिनीको शुक्रबारदेखि नै व्यापक अनुगमन गर्ने समेत निर्णय भएको छ।
नेपाल प्रहरीले अवैध ढंगले चिनी लुकाएको सूचना भएमा प्रदान गर्न अपील गरेको छ।