• २०८३ जेठ २७
  • 2026 June 10, Wednesday

प्रधानमन्त्री ओलीको घोषणा : मधेस प्रदेशमा ५०० डिप बोरिङ जडान हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेशमा पानीको आवश्यकता पूरा गर्न तत्काल ५०० ‘डिप बोरिङ’ जडान गरिने घोषणा गरेका छन् ।

महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित विग्ही नदीमाथिको पुल र वडा नं ६ मा निर्मित प्रसूति गृहको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पानी नपरेर सिँचाइ र खानेपानीको सङ्कट झेलिरहेको मधेस प्रदेशमा तत्कालै ५०० वटा डिप बोरिङ जडान गरिने बताएका हुन् ।

हवाई उडानमार्फत यहाँ आउँदै गर्दा अधिकांश जमिन सुक्खा देखिएको उल्लेख गर्दै उनले मधेस प्रदेशका आठवटै जिल्लामा सिँचाइको व्यवस्थासहित खानेपानीको व्यवस्था गर्न सरोकार भएका पक्षसँग छलफल तथा समन्वय गरी यथाशक्य छिटो समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सम्बोधनका क्रममा उनले मधेस प्रदेशको पूर्वी भागमा रहेको सप्तरी जिल्ला कोशी नदीसँग जोडिएकाले त्यहाँ कम समस्या रहेको चर्चा गर्दै बाँकी सातवटै जिल्लामा पानीको समस्या समाधान गर्नका लागि सरकार जुटिसकेको छ भने ।

प्रधानमन्त्री ओलीले मधेस प्रदेशलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरिसकेका सन्दर्भमा यस क्षेत्रका किसानसहित पानीको अभावका कारण प्रत्यक्ष रुपमा प्रभावित जनताका पक्षमा विशेष कार्यक्रम ल्याइने प्रतिबद्धता पनि व्यक्त गरे ।