• २०८३ जेठ २६
  • 2026 June 09, Tuesday

आज रातिदेखि छैटौँ अधिवेशन अन्त्य गर्न कर्णाली सरकारको निर्णय

काँक्रेविहार  । कर्णाली प्रदेश मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले प्रदेशसभाको दोस्रो कार्यकालको छैटौँ अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।

बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत प्रदेश सचिव ढोलकराज ढकाललाई सामाजिक विकास मन्त्रालयमा सचिवका रूपमा खटाउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता विनोदकुमार शाहले जानकारी दिए । त्यस्तै, सर्वोच्च अदालतको २०८२ जेठ ७ गतेको परमादेशअनुसार जाजरकोट जिल्लाको जुनीचाँदे गाउँपालिकाको प्रशासनिक केन्द्र वडा नं ४ लुहादहमा तोक्न सङ्घीय सरकारसमक्ष सिफारिस गर्ने समेत निर्णय भएको छ ।

बैठकले ‘पत्रकारिता पुरस्कार वितरण कार्यविधि, २०८२’लाई स्वीकृत गर्ने निर्णयसमेत गरेको छ । प्रदेश सरकारका कार्यालयहरूमा सूचना अधिकारीको कार्यान्वयन भएको वा नभएको विषयमा अनुगमन गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत शासकीय सुधार महाशाखाका सचिवको संयोजकत्वमा कर्णाली प्रदेश अनुगमन समिति गठन गर्ने निर्णयसमेत बैठकले गरेको प्रवक्ता शाहले जानकारी दिए ।