एक साताका लागि स्थगित भयाे संसद बैठक

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक एक हप्ताका लागि स्थगित गरेका छन् । अब अर्को बैठक पुस ६ गते मंगलबार दिउँसो १ बजे बस्नेछ ।

संसदको यो अधिवेशनमा पनि प्रमुख विपक्षी दल नेकपा एमालेले संसद बैठक अवरुद्ध गरेको छ । आफूले गरेको सांसदको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा अघिल्लो अधिवेशनमा संसद अवरुद्ध गरेको एमालेले मंगलबार शुरु भएको अधिवेशनको पहिलो बैठक पनि अवरुद्ध गरेको हो ।

एमाले सांसदहरुको नाराबाजीकै बीच सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक सञ्चालन गरेका थिए ।

मंगलबारको बैठकमा सरकारका तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८ पेस गर्नेछन् । उनले नै तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८ र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८ पेस गरेका छन् ।

त्यस्तै रेल्वे अध्यादेश २०७८, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश पनि संसदमा पेश भएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१