काठमाडाैं । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङलेले ‘एमसीसी उपहार हो कि पान्डोराज बक्स हो ?’ भनेर प्रश्न गरेकी छिन् ।
अमेरिकाको नेपालस्थित दूतावासले ५०० मिलियनको एमसीसी अनुदानलाई अमेरिकी जनताको तर्फबाट उपहार भनेको भन्दै उनले चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा भनेकी छन्, ‘उपहार अल्टिमेटमको प्याकेजसहित कहिलेबाट आउन थाल्यो ? मलाई आश्चर्य लागेको छ । सम्बन्धित मुलुकको सार्वभौमसत्ता र जनताको इच्छाको पूर्ण सम्मान हुनुपर्छ । सो मुलुकको आन्तरिक मामिलामा कुनै हस्तक्षेप हुनुहुँदैन, कुनै राजनीति अंकुश गाँसिनु हुँदैन । जुलुम कूटनीति गरिनुहुँदैन ।’
अन्तर्राष्ट्रिय विकास सहयोग आपसी सहमति र समानताको सिद्धान्तमा आधारित हुनुपर्ने, सम्बन्धित देशको सम्प्रभुता र त्यहाँका जनताको इच्छाको सम्मान गर्नुपर्ने उनले बताइन् । यस्तो सहयोग दिँदा सम्बन्धित देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नहुने चीनको धारणा रहेको उनको तर्क छ।
‘एकअर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगरी राज्यको सार्वभौमसत्ता र जनताको इच्छाको पूर्ण सम्मान गर्नुपर्छ,’ उनले भनिन्, ‘अन्य देशको सार्वभौमसत्ता र हितलाई हानी पुर्याउने र कुनै पनि राजनीतिक अवस्था वा स्वार्थ जोड्नु हुँदैन ।’