काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल सकिएको छ । बैठकमा एमालेको सहयोगमा एमसिसी पारित गर्ने सर्तमा प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धन तोड्न तयार भएका छन् ।
स्रोतका अनुसार एमसिसी पारित गर्ने सर्तमा प्रधानमन्त्री देउवा माओवादी र एकीकृत समाजवादीको साथ छाड्न तयार भएका हुन् । पाँच दलीय गठबन्धनमा रहेका माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसिसी पारित गर्न सहयोग नगर्ने भएपछि प्रधानमन्त्री देउवाले एमालेसँग संवाद अघि बढाएको हो । कांग्रेस र एमालेका नेताहरुबीच बिहीबार दुई चरणमा शीर्ष नेताहरुबीच भएको छलफल भएको छ ।
छलफलमा प्रधानमन्त्री देउवाले एमालेलाई सरकारमा सहभागी हुन आग्रह गरेका छन्। बैठकमा नेपाली काँग्रेसको तर्फबाट पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, नेता ज्ञानेन्द्रबहादुर कार्की सहभागी थिए भने नेकपा एमालेको तर्फबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र सुवास नेम्वाङ रहेका थिए ।