दाहाल–नेपालबीच भेटवार्ता : गठबन्धन जाेगाउन पर्नेमा जाेड

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

शुक्रबार दिउँसाे अध्यक्षद्वय दाहाल–नेपालबीच सिंहदरबारमा भेटवार्ता भएको हो । अध्यक्ष नेपाल आफ्नो पार्टीका मन्त्रीहरू तथा उपलब्ध सांसदहरूसँग छलफल गरिरहेका बेला अध्यक्ष दाहाल पुगेका थिए ।

भेटवार्ताका क्रममा अलमलमा परेकाे वर्तमान राजनीतिक विषयलाई समाधान गर्ने विषयमा छलफल भएको एकीकृत समाजवादीका सचेतक जीवनराम श्रेष्ठले जानकारी दिए । गठबन्धनलाई कायम राख्ने र एमसीसीमा भएका राष्ट्रहित विरोधी दफाहरूलाई सच्याउन सकिन्छ कि भन्ने सम्बन्धमा नेताहरूबीच कुराकानी भइरहेको उनकाे भनाइ छ ।

प्रमुख सचेतक श्रेष्ठले प्रमुख प्रतिपक्ष एमालेले देशलाई राजनीतिक अस्थिरतामा लैजाने षड्यन्त्र गरिरहेकाले अझै पनि त्यसका विरुद्धमा गठबन्धन आवश्यक रहेको बताए । गठबन्धनको आवश्यकता र महत्त्व उत्तिकै रहेकाले गठबन्धन कायम राखेर अगाडि बढ्नुपर्ने पार्टीको जोड रहेको उनले स्पष्ट पारे ।