रुस-युक्रेन संकट : किभमा यसरी बित्याे कहरकाे रात

रुसले युक्रेनको राजधानी किभमा भयंकर हमला गरेको भए पनि त्यहाँ उसले कडा प्रतिरोधको सामना गरिरहेको छ । युक्रेनी सेनाले रुसी सेनाका धेरै आक्रमणलाई असफल बनाएको दाबी पनि गरिरहेकाे छ ।

युक्रेनको सेनाले शनिबार बिहान फेसबुक पोस्टमा दावी गरेको छ, उसले रूसी सेनालाई शहरको मुख्य सडकमा अगाडि बढ्नबाट रोकेको छ ।

राष्ट्रपति जेलेन्स्कीले एक दिनअघि रुसले राजधानी किभमा ठूलो हमला गर्ने प्रयास गर्ने बताएका थिए ।

किभ प्रशासनले पनि सहरका सडकमा लडाइँ सुरु भएको पुष्टि गरेको छ र मानिसहरूलाई घरभित्रै बस्न सल्लाह दिएको छ । इन्टरफ्याक्स युक्रेनको एक रिपोर्टका अनुसार प्रशासनले मानिसहरूलाई बंकरहरूमा शरण लिन र घरको झ्याल र बालकनीबाट टाढा रहन आग्रह गरेको छ ।

राष्ट्रिय सुरक्षा र रक्षा परिषद्का सचिव ओलेक्सी डानिलोभले स्थिति युक्रेनी सेनाको नियन्त्रणमा रहेको बताएका छन् ।

ड्यानिलोभले भने, ‘हामीसँग भएका सबै श्रोतसाधनहरू प्रयोग गरी आक्रमण रोकिरहेका छौँ । किभमा सेना र शहरका नागरिकहरूको नियन्त्रण छ ।’

युक्रेनको वायुसेना कमाण्डले शनिबार बिहान भासिल्किएभ एयरबेसमा भीषण लडाइँको जानकारी दिएको छ ।

‘हामीले जसरी पनि लड्नुपर्छ’

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले शुक्रबार राति रुसले किभमा ठूलो आक्रमण गर्न लागेको बताएका छन् ।

जेलेन्स्कीले भने, ‘आज राति शत्रुले सबै सम्भावित उपायहरू प्रयोग गरेर हाम्रो प्रतिरोधलाई तोड्ने प्रयास गर्नेछन् । आज राति उनीहरूले ठूलो आक्रमण गर्नेछन् । आज राति हामी सुरक्षित हुनैपर्छ । अब युक्रेनको भविष्य तय हुन लागेकाे छ । हाम्रो मुख्य उद्देश्य रक्तपातको अन्त्य हो ।’

जेलेन्स्कीले रुसी सेनाले युक्रेनमा ठूलो क्षति पुर्‍याएकाे स्वीकार गरे तर शत्रुले ठूलो क्षति बेहोरेको दाबी पनि गरे ।

यसअघि शुक्रबार राष्ट्रपति जेलेन्स्कीका सल्लाहकारले आफ्नो देश रुससँग युद्धविराम र शान्ति वार्ताका लागि तयार रहेको बताएका थिए । तर रुसले युद्धलाई निरन्तरता दिइरहेकाे छ ।