
काठमाडाैं । आइतबार बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसीमाथिको छलफल अघि बढाइने भएको छ ।
संघीय संसद सचिवालयले आइतबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले गत आर्थिक वर्षको महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्ने पहिलो कार्यसूची रहेको छ ।
यसैगरी दोश्रो कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सरकार बीचको एमसीसी अनुदान सहायतामाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव गर्ने कार्यसूची तोकिएको छ ।
यसअघि यही फागुन १२ र १३ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सरकारको आग्रहमा स्थगित गरिएको थियो । एमसीसी सम्झौता संसदबाट पास गर्ने विषयमा सत्ता गठबन्धन दलभित्रै विवाद रहेकाले यसअघिका बैठक स्थगित भएको थियो ।
सरकारमा रहेको माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी दल एमसीसीको विपक्षमा रहेका छन् भने सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस संसदबाट पास गराउने कसरतमा लागेको छ ।
सत्ता गठबन्धनमा रहेका दल नै सो सम्झौताको विपक्षमा बसेपछि एमसीसी पास गराउन प्रमुख प्रतिपक्षी दल एमालेको साथ खोजेको छ ।