
जापान । गलकोट स्पोर्ट्स क्लब जापानले आठौँ वार्षिकोत्सवको अवसरमा सातौँ सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०२२ गर्ने भएको छ ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मान्यता राखेर स्थापना भएको क्लबले वार्षिक रूपमा गर्दै आएको खुल्ला पुरुष भलिबल प्रतियोगिता अप्रिल १८ तारिक सोमबारका दिन टोकियोको ओता कु सोउगो ताइइकुकानको कामतामा गर्न लागेको महासचिव हिमाल कँडेलले जानकारी दिए ।
नेपालको राष्ट्रिय खेल भलिबललाई प्रवासमा रहेर पनि संरक्षण प्रवर्द्धन र खेलाडी र खेलको विकासका लागि विगत ७ वर्षदेखि निरन्तर रूपमा सञ्चालन गरिँदै आएको यस प्रतियोगिताको प्रथम पुरस्कार ३ लाख १० हजार येन, प्रमाणपत्र सिल्भर कप र मेडल रहेको छ ।
यसैगरी, द्वितीय पुरस्कारको रूपमा २ लाख १० हजार येन नगद, प्रमाणपत्र कप र मेडल अनि सान्त्वना पुरस्कार दुई टिमलाई ५५ हजार ५५५ येन र प्रमाण पत्रका दरले प्रदान गरिने क्लबका अध्यक्ष डिलाराम निउरेले जानकारी दिए ।
खुल्ला पुरुष भलिबल प्रतियोगिता रहेकोले नेपालबाट जापानमा आएका तोकिएको नियम पूरा भएका हरेक टिमले अफिसियलसहित १२ जना खेलाडी खेलमा सहभागी हुन पाउने र दर्ता शुल्क चार मान अर्थात् चालिस हजार येन रहेको अध्यक्ष निउरेले बताए ।
नेपालको राष्ट्रिय खेल भलिबललाई परदेशको भूमिमा रहेर पनि प्रवर्द्धन र विकास गर्नका लागि खुल्ला मैत्रीपूर्ण रनिङ सिल्भर कप आयोजना गर्दै आइरहेको सचिव दिनेश थापाले बताए ।
सोही कार्यक्रमलाई निरन्तरता दिँदै जापान सरकारबाट कोरोना रोकथाम तथा न्यूनीकरणका लागि तोकिएका सम्पूर्ण मापदण्ड पूरा गरी सातौँ वार्षिकोत्सवसहित प्रतियोगिता सञ्चालन गरिने महासचिव कँडेलले बताए ।
खेलाडीको हौसला र खेलकुदमार्फत अनुशासनको संस्कृति विकासका लागि बेष्ट प्लेअर, बेष्ट स्पाइकर, बेष्ट सटर, बेष्ट डिफेन्सर, बेष्ट सर्भिससहित ५ विधामा खेलाडीहरूलाई पुरस्कृत गरिने र प्रतियोगिताको टाइसिट मार्च १७ तारिक पत्रकार सम्मेलन गरि सार्वजनिक गरिने खेलकुद संयोजक गणेश खत्रीले जानकारी दिए ।
कार्यक्रम व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि अध्यक्ष निउरेको संयोजकत्वमा मूल आयोजक समिति रहने गरि विभिन्न उपसमिति बनाइ कार्य विभाजनसमेत गरिएको छ । जसमा आर्थिक समिति, प्रचार-प्रसार समिति, हल व्यवस्थापन समिति, खेलाडी व्यवस्थापन, खाना/पानी व्यवस्थापन, अतिथि व्यवस्थापन, रेफ्री/एम्पाएर एवं खेल सामग्री संयोजन उपसमिति रहेका छन् ।
प्रतियोगिता बिहान ९ बजेदेखि हिगासी कामता ओता सिटी सेन्टरमा सञ्चालन हुनेछ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई जापानमा नेपालीहरूद्वारा सञ्चालित मिराइ लाइफ स्वास्थ्य बीमाले मिराइ लाइफ उत्कृष्ट खेलाडीको विशेष पुरस्कार प्रदान गर्ने बताइएको छ ।