
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध भ्रामक आरोप लगाएको भन्दै आपत्ति जनाएका छन् ।
एमसीसी पारित भएपछि आफ्नो धारणा सार्वजनिक गर्ने क्रममा एमालेले जारी गरेको विज्ञप्तिमा उल्लेख एक प्रसंगप्रति सभामुख अग्निप्रसाद सापकोटाले आपत्ति जनाएका हुन् ।
‘एमसीसी प्रस्ताव संसदमा टेबल गर्नुपरेमा आत्महत्या गर्छु भन्नेजस्ता आवेगपूर्ण अभिव्यक्ति दिएको’ भन्ने एमालेको आरोपका सम्बन्धमा सभामुखको सचिवालयले विज्ञप्ति जारी गरी आपत्ति जनाएको हो ।
साथै विज्ञप्तिमा सभामुखमाथि लगाइएको आरोपलाई पुष्टि गर्न चुनौती पनि दिइएको छ ।
हेर्नुहोस्, विज्ञप्ति :
प्रेस नोट
सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाको नाम जोडेर भ्रम सृजना गर्ने र अफवाह फैलाउन खोजिएको विषय स्पष्ट गर्न यो प्रेस नोट जारी गरिएको छ ।
देशको जिम्मेवार राजनीतिक दलको लेटरहेडमा उहाँले बोल्दै नबोलेको विषयमा काल्पनिक कथ्य बनाई सोही विषयलाई जोडेर गलत भाष्य निर्माण गर्न खोजिएकोप्रति सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ ।
लोकतन्त्र र संवैधानिक सर्वोच्चताको पक्षमा उभिनु भएका सम्माननीय सभामुखलाई जोडेर गरिएको प्रचार राजनैतिक पूर्वाग्रहबाट प्रेरित देखिन्छ ।
नेपालको संविधान, प्रतिनिधि सभा नियमावली र कानूनले तोकेको परिधिभित्र रहेर संवैधानिक दायित्व र जिम्मेवारी निर्वाह गर्दै आउनु भएका सम्माननीय सभामुख विरुद्ध कपोलकल्पित एवं भ्रमपूर्ण विषयको उठान र दुस्प्रचार खेद जनक छ ।
उहाँले बोलेको भनि प्रचार गरिएका विषयको पुष्टि गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछौं ।
आफ्नो राजनैतिक अभीष्ट पूरा गर्न अमर्यादित एवं अशोभनीय तवरले सिर्जना गर्न खोजिएको भ्रममा नपर्न सबैमा अनुरोध गर्दछौं ।
१८ फागुन २०७८
श्रीधर न्यौपाने
प्रेस विज्ञ