आगामी निर्वाचनमा माओवादी दाेस्राे पार्टी बन्न सक्ने रिपाेर्टिङ आएकाे छ, पहिलाे बन्नुपर्छ : प्रचण्ड

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा आफ्नो पार्टी दोस्रो हुने रिपोर्टिङ आएको बताएका छन् ।

शुक्रबारदेखि काठमाडौंमा सुरु केन्द्रीय समिति बैठक सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा काङ्ग्रेस पहिलो र माओवादी दोस्रो हुने आँकलन भएको सूचना आएको दाबी गरेका हुन् ।

उनले भने,’आगामी चुनावमा पहिलो दल कांग्रेस हुन्छ भन्ने रहेछ । दोस्रोमा माओवादी केन्द्र रहेछ । तर हामी पहिलो दल बन्नु पर्छ, त्यो सम्भावना छ ।’

संसदीय राजनीतिमा खारिएका एमाले र कांग्रेस गाउँ पुगिसकेकाले आफ्नो पार्टीले अब मिहिनेत गर्नुपर्ने अवस्था आइसकेको उनकाे भनाइ थियाे ।

‘प्रचण्ड’ ले एमसीसी पारित गर्ने क्रममा देखिएको विवाद र पार्टीले लिनुपरेका निर्णयका बारेमा प्रष्टीकरण पनि दिएका छन् ।

माओवादी र समाजवादीबिनै एमसीसी पारित नहुने सन्दर्भमा कांग्रेस र एमाले मिलेर माओवादीलाई केन्द्र र प्रदेश सरकारबाट हटाउनेसम्मको योजना भएको पनि प्रचण्डको भनाइ थियो ।

यसका लागि कांग्रेसले गठबन्धनसँगै एमालेसँग पनि समानान्तर छलफल चलाएको स्पष्ट रहेको प्रचण्डको भनाइ थियो ।

यस्तो पृष्ठभूमिमा राजनीतिमा सुझबुझपूर्ण निर्णय गर्नुपर्ने भएकाले एमसीसीका सन्दर्भमा लिइएको निर्णय सही भइएको पनि बताए । शान्तिप्रक्रियाका कतिपय विषय अझैपनि टुंगोमा नपुगेकाले त्यसका लागि पनि राजनीतिमा सुझबुझपूर्ण निर्णय लिनुपर्ने जरुरी हुने बताए ।

प्रचण्डले शान्तिप्रक्रिया टुंगिएको अवस्था हुन्थ्यो भने एमसीसीका सन्दर्भमा फरक किसिमको निर्णय लिन सकिने अवस्था रहेको पनि बताए । शान्तिप्रक्रियालाई टुंगोमा पुग्न नदिन अझैपनि अनेकन षड्यन्त्र भइरहेको प्रचण्डको भनाइ थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१