काठमाडौं । नेकपा(एमाले)का सांसद भीम रावलले निरन्तर संसद अवरोध हुनु जनताको सार्वभौम अधिकारमाथिको खेलवाड भएको बताएका छन् ।
आइतबार प्रतिनिधि सभाको बैठकमा सहभागी हुन संसद भवन पुगेका सांसद रावलले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै निरन्तरको संसद अवरोध जनताको सार्वभौम अधिकार माथिको खेलवाड भएको बताएका हुन् ।
उनले भने, ‘यो त नेपाली जनताको जुन सार्वभौम अधिकार माथिको खेलवाड हो । र यो एकदम अत्यन्त गैरजिम्मेवार काम हो । किनभने नेपाली जनताले आफ्नो निर्वाचित जनप्रतिनिधि मार्फत् राष्ट्रको स्वाधिनता, स्वतन्त्रता, जनताको जिविका जस्ता महत्वपूर्ण विषयमा छलफल होला, त्यसले निकास देला भनेर उनीहरुले अपेक्षा गरेका हुन्छन् र संसद भनेको देशमा उत्पन्न समस्याहरुको निकास दिने महत्वपूर्ण थलो हो ।’
उनले संसद अवरोध गर्नु गैरजिम्मेवार काम भएको टिप्पणीसमेत गरे ।