झलनाथ खनालकाे अगाडि माधव नेपालले दिए एमसीसीबारे जथाभावी नबाेल्न निर्देशन

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसीका विषयमा जथाभावी नबोल्न आफ्ना नेताहरूलाई निर्देशन दिएका छन् ।

नेपालले एमसीसीको सन्दर्भमा पार्टीका केही नेताले अत्यन्त गम्भीर र आपत्तिजनक कुरा फेसबुकमा लेखेको भन्दै गल्ती स्वीकार गर्न भनेका हुन् । बुधबारदेखि राजधानीमा सुरु भएको केन्द्रीय कमिटी बैठक सम्बाेधनका क्रममा उनले एमसीसीबारे जथाभावी नबोल्न र सामाजिक सञ्जालमा पनि नलेख्न निर्देशन दिएका हुन् ।

उनले भने, ‘एमसीसीको विषयमा गम्भीर कुरा फेसबुकमा लेख्नुभएको छ । ती कुराहरू आपत्तिजनक छन् । पार्टीले सहन सक्दैन । बहुमतको निर्णय पार्टीको निर्णय हुन्छ । आफ्नो गल्ती स्वीकार्नुस् । अन्यथा स्पष्टीकरण सोध्नुपर्ने अवस्था आउँछ ।’

एमसीसीका विषयमा नेता झलनाथ खनालले फरक विचार प्रस्तुत गरिरहेका छन् । उनले एमसीसीकाे विराेध गरिरहेका छन् ।

बैठकमा पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, नेता राजेन्द्र पाण्डे, मेटमणि चौधरी, गङ्गालाल तुलाधरसहित केन्द्रीय कमिटीका ३३५ सदस्य सहभागी छन् । यसअघि उक्त पार्टीले पहिलो पूर्ण बैठक गत असोज र दोस्रो बैठक कात्तिकमा सम्पन्न गरेकाे थियाे ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१