काठमाडाैं । नेपाल डेमोक्रेट युनियनले तिब्बतको मुक्ति आन्दोलनप्रति ऐक्यवबद्धता जनाएकाे छ । ‘६३औँ टिबेटन अपराइजिङ डे’ का अवसरमा बिहिबार युनियनका अध्यक्ष सिद्धार्थ गौतमले संयुक्त राष्ट्र संघलाई एक स्मरण पत्र लेखी तिब्बतियन आन्दोलनप्रति ऐक्यबद्धता जनाएका हुन् ।
स्मरण पत्रमा भनिएको छ, ‘तिब्बत मुक्ति आन्दोलन चीनको पञ्जाबाट मुक्त हुन चाहने तिब्बती जनताको आन्दोलन मात्र नभएर न्याय, स्वतन्त्रता, मानवअधिकार र प्रजातन्त्रप्रेमी विश्व समुदायको आन्दोलनकै एक अङ्ग हो । नेपाल डेमोक्रेट युनियन विश्वभरका प्रजातन्त्रप्रेमी जनता र सरकारका साथै नेपाली जनताको तर्फबाट तिब्बत मुक्ति आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गर्दछ ।’
स्मरण पत्रमा तिब्बतमाथिकाे अतिक्रमण फिर्ता गर्न र अन्यथा विश्वसमुदायबाट एक्लिनका लागि तयार हुनु भनी चेतावनीसमेत दिइएकाे छ ।
युनियनले विश्वमा शान्ति, स्वतन्त्रता, मानवअधिकार र प्रजातन्त्रको संरक्षण सम्बर्धनको जिम्मेवारी बोकेको संयुक्त राष्ट्र संघले तिब्बती जनताको स्वतन्त्रता, मानवअधिकार र प्रजातन्त्रको प्रत्याभूमिको निम्ति आवश्यक कदम चालोस् भन्ने चाहाना पनि ब्यक्त गरेको छ ।
स्मरण पत्रमा लखिएको छ, ‘तिब्बती जनताको स्वतन्त्रता र प्रजातन्त्रको अदम्य चाहनाको लागि विश्वभर छरिएर पनि तिब्बत मुक्ति आन्दोलनमा एकढिक्का भएर लागेका तिब्बती जनतालाई अभिवादन गर्दै नेपाल डेमोक्रेट युनियन आफूलाई प्रजातन्त्रप्रेमी मान्ने सबै पार्टी र नेताहरुलाई तिब्बत मुक्ति आन्दोलनका पक्षमा सहयोग तथा समर्थन गर्न समेत आग्रह गर्दछ ।’