
माेरङ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाबाट स्थानीय तहमा उम्मेदवार बन्नेहरूले स्थानीय मन्दिरमा कसम खानुपर्ने बताएका छन् । मोरङको सुन्दर हरैंचामा बिहीबार आयोजित पार्टी प्रवेश तथा आमसभा कार्यक्रममा उनले यस्ताे बताएका हुन् ।
लिङ्देनले सुशासनका लागि, जनताप्रति उत्तरदायी बन्नका लागि र देशहितमा काम गर्नका लागि उम्मेदवारले अनिवार्य रूपमा कसम खानुपर्ने बताएका हुन् । उनले भने- ‘राप्रपाको टिकट लिन आउनुभन्दा अगाडि आफ्नो निर्वाचन क्षेत्रको कुनै पनि ठाउँको मन्दिरमा गएर कसम खाएर आउनु पर्नेछ ।’
कार्यक्रममा राप्रपाका नेता ज्ञानेन्द्र शाहीले भ्रष्टाचारीलाई पार्टीले कहिल्यै पनि टिकट नदिने बताए । उनले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने पनि बताए ।
कार्यक्रममा राप्रपाकी नेतृ तथा अभिनेत्री रेखा थापाले नारीलाई शिक्षाका लागि, स्वास्थ्यका लागि विशेष जोड दिनुपर्ने बताएकी थिइन् ।