
काठमाडाैं । भारत सरकारको आर्थिक सहयोगमा मोरङमा निर्माण गरिएको आरोहण–गुरुकुल नाट्यशाला भवनको उद्घाटन भएकाे छ । मोरङ जिल्ला विराटनगर महानगरपालिकाका नगर प्रमुख भीम पराजुली र काठमाडौंस्थित भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्तकुमार सोनाले उक्त भवनकाे संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
३ करोड ५१ लाख रुपैयाँ लागतमा निर्माण गरिएको यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “India@75 आजादीका अमृत महोत्सव” अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनाहरु मध्येको एक हो ।
नेपालमा रहेको यो नाट्य समूहले नेपाली रंगमञ्चको प्रवर्द्धनमा योगदान पुग्दै आएको छ र नेशनल स्कुल अफ ड्रामालगायत भारतका विभिन्न नाट्य समूहसँग सुमधुर सम्बन्ध कायम राखेको छ । नवनिर्मित संरचनाले आरोहण–गुरुकुल नाट्यशाला परिसरमा राम्रो वातावरण सिर्जना गर्नुका साथै मोरङ जिल्लामा नवीन तथा विशेष कार्य गर्न र शिक्षा–संस्कृति क्षेत्रको विकास गर्न मद्दत गर्नेछ ।
सन् २००३ यता भारतले नेपालमा ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा ४६७ वटा सम्पन्न भइसकेका छन् । ती मध्ये मोरङ जिल्लाका १५ वटा गरी प्रदेश १ मा ७८ वटा परियोजनाहरु रहेका छन् ।
यसका अतिरिक्त भारत सरकारले विभिन्न स्वास्थ्य चौकी तथा विद्यालयलाई २० वटा एम्बुलेन्स तथा ८ वटा स्कुल बस उपहार स्वरुप प्रदान गरिसकेको छ ।