माधव नेपालकाे आरोप : केपी ओली चुनावी गठबन्धन गर्न ज्ञानेन्द्र निवास जाने गरेका छन्

काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी गठबन्धन गर्न सुटुक्क पूर्वराजा ज्ञानेन्द्र शाहकोमा जाने गरेको आराेप लगाएका छन् ।

शुक्रबार पार्टी निकट महिला संघको भेलालाई काठमाडाैंमा सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘केपी शर्मा ओली हाम्रो गठबन्धन टुटाउन खोज्दैछन्, उनी अर्को गठबन्धन बनाउन खोज्दैछन्, त्यसका लागि सुटुक्क ज्ञानेन्द्र निवासमा पुग्ने गरेका छन्, राप्रपासँग साँठगाँठ गर्न खोजिरहेका छन्, दक्षिणपन्थी शक्तिसँग मिल्न खोजिरहेका छन् ।’

अध्यक्ष नेपालले आफ्नो पार्टीप्रति आकर्षण बढ्दा विरोधीहरु आत्तिन थालेको पनि बताए । नेपालले नेकपा एकीकृत समाजवादीले ६ महिनाको छोटो अवधिमा बढेको आकर्षणका कारण विरोधीहरुले मानसिक सन्तुलन गुमाएर कुप्रचार गर्न थालेको बताए ।

उनले भने ‘हाम्रो पार्टीप्रति बढेको आकर्षण देखेर विरोधीहरु आत्तिएका छन्, मानसिक सन्तुलन गमाउन पुगेका छन्, आत्तिएर मन्त्री प्रेम आले र किसनकुमार श्रेष्ठ बालकोट पुगेको भनेर प्रचार गरे । हुँदै नभएको कुरामा हल्ला मच्चाउने गरेका छन् ती कुनै प्रचारमा सत्यता छैनन् ।’