नेपाल-चीनबीच भएको नौ बुँदे सम्झौतामा के छ ?

काठमाडौं । नेपाल र चीन सरकारबीच विभिन्न नौवटा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।शनिबार सिंहदरबारमा चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी र नेपालका परराष्ट्रमन्त्री डा. नारायण खड्काको उपस्थितिमा दुई देशका प्रतिनिधिबीच नौ समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

नेपाल र चीनबीच नेपाल-चीन अन्तरदेशीय रेल निर्माणको सम्भाव्यता अध्ययन, नेपाल-चीन अन्तरदेशीय विद्युत् प्रसारणलाइन निर्माणका विषयमा समझदारी भएको छ ।यस्तै, नेपालमा चिनियाँ स्वास्थ्यकर्मीको टोलीले सेवा प्रवाह गर्ने, नेपालमा उत्पादित सामग्रीलाई भन्सार छुट दिने, नेपाललाई कोरोनाविरुद्धको आवश्यक खोप प्रदान गर्नेलगायत विषयमा समझदारी भएको छ ।

यसअघि, शनिबारै सिंहदरबारमा चीनका विदेशमन्त्री वाङ र परराष्ट्रमन्त्री खड्काबीच दुईपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको थियो । विदेशमन्त्री वाङ नेतृत्वको प्रतिनिधिमण्डल शुक्रबार नेपाल आएको हो ।