केही ठाउँमा क्षणिक वर्षा हुन सक्ने, तत्काल उपत्यकाकाे प्रदुषण हट्ने सम्भावना छैन

काठमाडाैं । बुधबार देशका केही ठाउँमा क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहानैदेखि काठमाडाैं उपत्यकासहित देशका धेरै ठाउँको मौसम धुम्मिएकाे छ । कतै-कतै हल्का पानी परेको पनि मौसमविद्ले जनाएका छन् । बुधबार दिउँसाे पनि काठमाडाैंसहित प्रदेश एक, मधेश प्रदेश, वाग्मती र गण्डकीमा क्षणिक वर्षाको सम्भावना छ । ती प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको मौसविद्ले बताएका छन् ।

नेपालमा अहिले भारतको बिहार आसपास रहेको न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । शुक्रबारसम्म मौसम यस्तै रहने अनुमान छ ।

यस्तै, तत्काल काठमाडाैंको प्रदूषण हट्ने सम्भावना नरहेको पनि मौसमविद्ले बताएका छन् । काठमाडाैंसहित मुख्य शहरमा प्रदूषणको अवस्था अस्वस्थकर नै छ ।

सुक्खा मौसम भएकाले सबैतिरबाट धुलो धुँवा वायुमण्डलमा जम्मा भएको छ । सुक्खापन बढेकाले प्रदूषण अझै बढ्ने सम्भावना छ । अहिले केही जङगलमा डढेलो लागेको र फोहोर बाल्ने तथा आगलागीजन्य गतिविधिले पनि प्रदूषण बढीरहेकाे छ ।