बालुवाटार बैठककाे निर्णय : गठबन्धन दलहरूबीच तालमेल, केन्द्रदेखि स्थानीय तहसम्म संयन्त्र निर्माण

काठमाडाैं । सत्तारुढ गठबन्धनले चुनावी तालमेलका लागि केन्द्रदेखि स्थानीय तहसम्म संयन्त्र निर्माण गर्ने भएको छ ।

बालुवाटारमा बिहीवार बसेको गठबन्धनको बैठकले चुनावी तालमेलका लागि संयन्त्र निर्माण गर्ने निर्णय गरेको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

उनले भने, ‘गठबन्धनको बैठकले केन्द्रदेखि स्थानीय तहसम्म निर्वाचनका लागि संयन्त्र निर्माण गर्ने, स्थानीय तहको निर्वाचनमा गठबन्धन सम्बद्ध दलहरूले गठबन्धनमा मात्र चुनावी तालमेल गर्ने निष्कर्ष निकालेको छ ।’

सत्तारुढ गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी आबद्ध छन् । एमसीसी प्रकरणमा गठबन्धनबाट बाहिरिएको राष्ट्रिय जनमोर्चाले पनि प्रदेशमा भने सत्तारुढ गठबन्धनसँग सहकार्य जारी राखेको छ ।

प्रमुख सत्तारुढ नेपाली कांग्रेसले चुनावी तालमेलको पक्षमा निर्णय गरेपछि त्यसको मोडालिटी तय गर्न गठबन्धनको बैठक बसेको हो ।

-फाइल तस्बिर ।