काठमाडाैं । विवेकशील साझा पार्टीले समीक्षा बास्कोटालाई काठमाडौं महानगरपालिकाको मेयर र कीर्ति तुलाधरलाई उपमेयर पदको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
सोमबार बसेको विवेकशील साझाको केन्द्रीय समिति बैठकले ‘देशको राजधानी इमानदार, सक्षम र परिपक्व दुईजना महिलालाई जिम्मा लगाऊँ : राजधानीको गौरव पुनर्स्थापित गरौँ’ भन्ने नाराका साथ दुईजना महिला उमेदवार अघि सार्ने निर्णय भएको पार्टी प्रवक्ता शरदराज पाठकद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।
समिक्षा बास्कोटा विवेकशील साझा पार्टीको बागमती प्रदेशकी पूर्व संयोजक तथा हाल केन्द्रीय समितिकी सदस्य हुन् । ३८ वर्षीय बास्कोटाले काठमाडौँ स्कुल अफ लबाट कानुनमा स्नातक गरेर अमेरिकाबाट कानुनमै स्नातकोत्तर गरेकी छिन् । उनी गएको निर्वाचनमा काठमाडौं क्षेत्र नं १ ‘क’ बाट प्रदेशसभाको उम्मेदवारसमेत बनेकी थिइन् । २७ प्रतिशत मत ल्याएर उनले तेस्रो स्थान हासिल गरेकी थिइन् ।
यस्तै, कीर्ति तुलाधर विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य हुन् । उनी नेपाल जेसीजको अहिलेसम्मका तीनजना महिला राष्ट्रिय अध्यक्ष मध्येकी एक हुन् । उनी अन्तर्राष्ट्रिय जेसीजको पनि दक्षिण एशियाबाटै पहिलो महिला उपाध्यक्ष हुन् । शिक्षा विषयमा स्नातकोत्तर गरेकी ६२ वर्षीय तुलाधर हाल विभिन्न संघसंगठनको नेतृत्वदायी भूमिकामा छिन् ।
दुवै उमेदवारले आफ्नो संयुक्त घोषणापत्र छिटै पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने पार्टीले जनाएको छ ।
घोषणापत्र मूलत ७ वटा बुँदाहरूमा केन्द्रीत हुने प्रवक्ता शरदराज पाठकले जानकारी दिए । जसमा भ्रष्टाचार नियन्त्रण, सुशासन र सेवाप्रवाह, सुलभ, व्यवस्थित, विद्युतीय यातायात, नेवाः कला संस्कृतिको सम्वर्द्धन र पुनर्जागरण, खुला क्षेत्रको संरक्षण र विस्तार, नदी नालाको सफाई र पुनर्स्थापना, सफा र व्यवस्थित काठमाडौं, गुणस्तरीय शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा हुने पाठकको भनाइ छ ।