भारतले मनायाे ७२ औँ भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आइसीसीआर)काे स्थापना दिवस

काठमाडाैं । भारतीय राजदूतावासस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले गएकाे शनिबार काठमाडौंको नक्सालस्थित होटल मेरियटमा ७२ औँ भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आइसीसीआर)काे स्थापना दिवस मनाएकाे छ ।

आइसीसीआरका पूर्व विद्यार्थीहरुबीच मित्रताको सम्बन्ध बलियाे बनाउने उद्देश्य लिएर याे दिवस मनाइएकाे हाे ।

नेपाली कांग्रेसका नेता डा. शशांक कोइराला, प्रसिद्ध अभिनेत्री मनीषा कोइराला र नेपालका आइसीसीआरका पूर्व विशिष्ट विद्यार्थीहरुको उपस्थितिमा नियोग उप–प्रमुख नामग्य खम्पाले उक्त कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रममा नेपालबाट आइसीसीआरका दुई प्रतिष्ठित पूर्व छात्रहरु–काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. भोला थापा र नेपाल क्लियरिङ्ग हाउसका प्रमुख कार्यकारी अधिकृत निलेश प्रधानले भारतमा अध्ययन गर्दाका आफ्ना अनुभवहरु सुनाएका थिए ।

चर्चित अभिनेत्री मनीषा कोइरालाले पनि कार्यक्रममा आफ्ना बाल्यकाल र भारतमा प्रारम्भिक शिक्षा लिँदा बटुलेका अनुभवहरु साटेकी थिइन् । विश्वभर छरिएर रहेका आइसीसीआरका पूर्व विद्यार्थीहरुको अनुभवलाई संकलन गरी भिडियोमार्फत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।