
काठमाडाैं । भारतीय राजदूत विनयमोहन क्वात्राले आयोजना गरेको रात्रिभोजमा प्रधानमन्त्रीदेखि पूर्वप्रधानमन्त्रीसम्म शीर्ष नेता सहभागी भएको खबर यतिबेला चर्चामा छ ।
एकजना सहसचिवस्तरको भारतीय कर्मचारीको बिदाइ कार्यक्रमका लागि बहालवाला प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री तथा पूर्वसभामुखसम्म लर्को लागेर लैनचौरस्थित भारतीय दूतावास पुगेको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।
नेकपा एमालेका नेता भीम रावलले पनि कडा शब्दमा टिप्पणी गरेका छन् । उनले कूटनीतिक मर्यादा र स्वाभिमानलाई तिलाञ्जली दिएर विदेशभक्ति छताछुल्ल पारेको भन्दै आलोचना गरेका हुन् ।
‘भारतीय राजदूतको बिदाइ रात्रिभोजमा प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रम माधव नेपाल र पुष्पकमल दाहाल, संविधान सभाका अध्यक्ष सुवास नेम्वाङलगायतका नेताहरू लर्को लागेर दूतावास गएको समाचार पढियो’, रावलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘कूटनीतिक मर्यादा र स्वाभिमान भातेकुर्सीले छोपिएपछि विदेशभक्तिको नग्न रूप देखिँदो रहेछ। लाज पचेपछि।’
भारतीय राजदूतको विदाई रात्रिभोजमा प्रमं शेर ब.देउवा,पूर्व प्रमं माधव नेपाल र पुष्पकमल दाहाल, संविधानसभाका अध्यक्ष सुवास नेम्वांग लगायतका नेताहरू लर्को लागेर दूतावास गएको समाचार पढियो। कूटनीतिक मर्यादा र स्वाभिमान भातेकुर्सीले छोपिएपछि विदेशभक्तिको नग्न रूप देखिदो रहेछ।लाज पचेपछि!
— Bhim Rawal, PhD (@BhimRawal179) April 13, 2022