बेरोजगारी र गरिबी अन्त्यका लागि सही नेतृत्व आवश्यक छ : अध्यक्ष लिङ्देन

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा रहेको बेरोजगारी र गरिबी समस्या समाधानका लागि सही नेतृत्व र पार्टी छान्न आग्रह गरेका छन् । राप्रपाले शुक्रबार चितवनमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले निर्वाचनको समयमा सही नेतृत्व छान्न नसक्दा बेरोजगार र गरिबीको अन्त्य हुन नसकेको बताए ।

उनले भने, ‘बेरोजगार र गरिबी अन्त्यका लागि सही नेतृत्व छनोट गर्ने समय आएको छ ।’ उनले ३२ वर्ष मौका पाउने नेता तथा दलहरुले जनताले अनुभूति गर्ने गरी देशको विकास गर्न नसकेकाले अब विकल्प सोच्ने बेला आएको बताए । उनले भने, ‘चुनावलाई ख्यालख्याल नठानौँ, भोट दिनुभन्दा अगाडि हजार पटक सोच्नुस्, बाउ–बाजेको पार्टी भनेर भोट नदिनुस्, ठिक पार्टी र ठिक नेता चुन्नुपर्छ ।’

भोट दिँदा छोरी दिएको जस्तो गरी सोचेर दिन उनले आग्रह गरे । उनले थपे, ‘छोरी दिँदा जति सोचेर बुझेर दिइन्छ त्यति नै भोट दिँदा सोचिएन भने देशले दुःख पाउँछ ।’

विगत निर्वाचनहरुमा ठिक पार्टी र नेता छान्न नसक्दा देश र जनताले दुःख पाएको उनको भनाइ थियो । जनतालाई गाइगोठको वस्तु ठान्ने नेताहरुले जनताका समस्या हल गर्नै नसक्ने उनको भनाइ थियो । उनले भने, ‘देश कस्तो बनाउने भन्नेबारे तीनै पालिकाको विकास गरेर देखाउँछौँ । नमूना पालिका बनाउनेछौँ ।’

कार्यक्रममा राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे र हेम्जङ गुरुङले आगामी निर्वाचनमा राष्ट्रवादीको जीत भएमा देश र जनताले दुःख नपाउने बताए । अहिले आफूहरू देश बचाउनका लागि गुहार माग्न जनतामाझ आएको उनीहरुको भनाइ थियो ।

सो अवसरमा राप्रपाका महामन्त्री कुन्ती शाही, प्रवक्ता ज्ञानेन्द्र शाही, सहायक महामन्त्री प्रेम बलायर, सहमहामन्त्री रिना गुरुङलगायतले बोलेका थिए । जिल्ला अध्यक्ष रुद्रप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी राप्रपामा प्रवेश गर्नेहरुलाई स्वागत गरिएको थियो ।