मेयरमा निर्वाचित भएपछि बालेनले भने- विजयभन्दा पनि कामकाे सुरुवात हाे

काठमाडाैं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउने प्रतिबद्धता गरेका छन् ।

मेयरमा निर्वाचित भएपछि सम्बोधन गर्दै शाहले भने,‘हामी सबै मिलेर अब काठमाडौंलाई देशको मात्र नभएर विश्वकै सुन्दर र उत्कृष्ट नगर बनाउन सबैले सहकार्य गर्नेछौँ भन्ने आशा राखेका छौँ ।’

‘आजबाट हामीले एउटा सुरूआतको रूपमा लिएका छौं । निर्वाचनको परिणाम जुन आएको छ । यसलाई हाम्रो विजय भन्दा पनि हाम्रो कार्यको सुरूआत हुनेछ’, उनले भने, ‘अबको ५ वर्षमा आफ्नो भिजन र एजेन्डाहरूलाई पूर्ण रूपमा कार्यसम्पन्न गर्ने हाम्रो धारणा रहेको छ ।’

नयाँ मेयरका रूपमा स्वतन्त्र उम्मेदवार बालेन शाह ६१ हजार ७ सय ६७ मत ल्याएर निर्वाचित भएका छन् । सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेकी सिर्जना सिंहले ३८ हजार ३४१ मत ल्याएकी छन् ।

एमालेका केशव स्थापितले ३८ हजार ११७ मत पाएका छन् ।

बालेनले आफ्ना निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी सिर्जना सिंहभन्दा २३ हजार ४२६ मत धेरै ल्याएका छन् । त्यस्तै, तेस्रो स्थानमा रहेका एमालेका स्थापितभन्दा २३ हजार ६५० मत बढी पाएका छन् ।

यस्तै उपमेयरमा एमालेकी सुनिता डंगोल विजयी भइन् । उनले ६८ हजार ६१२ मत पाएकी छन् ।