काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद लालबाबु पण्डितले सरकारले ल्याएकाे बजेटमा हावादारी कार्यक्रम समावेश भएकाे बताएका छन् ।
बुुधबार प्रतिनिधि सभा संसदको बैठकमा बजेटमाथिको सैद्धान्तिक छलफलमा उनले यस्ताे बताएका हुन् । उनले काठमाडौंबाट चितवन १ घण्टामा पुग्ने तथा सगरमाथा फेदीमा २ घण्टामा पुग्ने कस्तो महत्त्वाकांक्षी योजना हो ? भन्दै प्रश्न गरे ।
उनले भने, ‘काठमाडाैंबाट चितवन १ घण्टामा पुगिन्छ रे । के हेलिकोप्टरबाट झुन्डिएर जानुहुन्छ ? सगरमाथाको फेदमा पनि २ घण्टामा पुग्ने रे । त्यहाँ पनि हेलिकोप्टरमा झुन्डिएर जाने ? के भन्न खोजेको कति छुट्याएको हो बजेट ?’
कर्मचारीको तलब बढेको तर मजदुरको ज्याला नबढेकाे पनि उनकाे भनाइ थियाे । उनले बजेटले ठूला उद्योगलाई राहत दिएर साना उद्योगलाई मार्ने नीति लिएको आरोप लगाए ।
पूर्वमन्त्री समेत रहेका पण्डितले स्वास्थ्य र शिक्षा क्षेत्रमा बजेट बढाएर निजी क्षेत्र पोस्न खोजेको हो ? भन्दै प्रश्न पनि गरे ।