चितवनमा फेला पर्‍यो नयाँ प्रजातिकाे चरा

काठमाडाैं । चितवनमा नयाँ प्रजातिको चरा भेटिएको छ ।

नेपाल पक्षीविद् सङ्घ बागमती प्रदेशका अध्यक्ष वासु बिडारीका अनुसार खैरहनी नगरपालिका–११ पिडहनी क्षेत्रमा धानबारीमा नयाँ प्रजातिको चरा भेटिएको हो ।

छ दिनअघि वर्ड एजुकेशन सोसाइटी सौराहाका सदस्य राजु तामाङले सो चराको तस्वीर लिएका थिए । नयाँ चरा भेटिएपछि चराविज्ञ डा. हेमसागर बरालसहितको विज्ञ समूह मङ्गलबार चितवन आएर थप अध्ययन गरेको थियो ।

बिडारीका अनुसार मङ्गलबार पनि चरा भेटिएको थियो । विज्ञहरूले उक्त चरा चाइनिज पोण्ड हेरोन भएको बताएका छन् । यो चरा चीन, भारत, हङ्कङलगायत देशमा पाइन्छ । फिरन्तेका रूपमा यो चरा यहाँ आएको हुनसक्ने अनुमान गरिएको छ । यो चरा लजालु स्वभावको भएको बिडारी बताउँछन् ।

नेपालमा चराको प्रजाति सङ्ख्या ८९१ पुगेको छ । चितवनमा मात्रै ६५० प्रजातिका चरा रहेको पाइएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१