प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन आगामी मंसिरमा नै हुन्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन आगामी मंसिरमा नै हुने बताएका छन् ।

उनले चुनाव एकै चरणमा सम्पन्न गर्नेबारे पनि छलफल भइरहेको जानकारी दिए ।

बर्दियाको बेलभारमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले सुरक्षाका हिसाबका कारण २ चरणमा गर्ने हाे कि भन्नेबारे छलफल भइरहे पनि सम्भवत: एकै चरणमा चुनाव हुने र मंसिरमा नै हुनेमा ढुक्क हुन आग्रह गरे ।

उनले भने, ‘प्रतिपक्षको पनि मंसिरको पहिलो हप्ता वा कात्तिकको अन्तिममा नै निर्वाचन गर्नुपर्छ भन्ने कुरा भएको छ । प्रधानमन्त्री लगायत गठबन्धनमा हामीले छलफल गर्दा मंसिरको पहिलो हप्तामा हुने नै बढी सम्भावना छ । त्यसकारण हामी कोही पनि कन्फ्युजन हुन पर्दैन, चुनाव मंसिरमा हुन्छ ।’